काठमाडौं– बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतका पूर्वअलराउन्डर श्रीधरन श्रीरामलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
‘द डेली स्टार‘ले बीसीबीका निर्देशक नजमुल हसन पपनलाई उद्धृत गर्दै श्रीरामलाई आगामी एसिया कप र टी–२० विश्वकपका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको पुष्टि गरेको हो।
‘हो, हामीले विश्वकपसम्म श्रीरामलाई नियुक्त गरेका छौं। हामी नयाँ सोचका साथ अगाडि बढ्दै गर्दा एसियाबाट नयाँ प्रशिक्षक छानिएको छ। टी–२० विश्वकप हाम्रो मुख्य लक्ष्य हो। एसिया कप आउन धेरै समय बाँकी छैन। मैले भनेझैं हाम्रो मुख्य फोकस टी–२० विश्वकपमा छ,’ उनले भने।
श्रीरामले २००२–००४ को बीचमा ८ एकदिवसीय खेलमा भारतको प्रतिनिधित्व गरेका थिए। लामो समय अस्ट्रेलियाको सहायक र स्पिन बलिङ प्रशिक्षकको रूपमा पनि उनले काम गरे।
उनको कार्यकाल अस्ट्रेलियाका पूर्वप्रशिक्षक ड्यारेन लेहमनको नेतृत्वमा थियो। श्रीरामलाई २०१६ मा स्पिन बलिङ प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। ४६ वर्षीय श्रीरामले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर सम्हाल्न राजीनामा दिएका थिए।
यसैबीच, बीसीबीका एक अधिकारीले दक्षिण अफ्रिकाका रसेल डोमिङ्गोले टेस्ट टोलीको जिम्मेवारी जारी राख्ने बताएका छन्। ‘डोमिङ्गोले अहिलेको लागि टेस्ट टोलीमा आफ्नो भूमिका जारी राख्नेछ। हामीले नोभेम्बरमा भारतसँग टेस्ट खेल खेल्छौं,’ती अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।