काठमाडौं– स्पोर्ट्स हर्निया र कोरोना संक्रमणका कारण करिब तीन महिना मैदान बाहिर रहेका केएल राहुल भारतीय ड्रेसिङ रूममा रमाइलो गरिरहेका छन्।
६ वर्षअघि जिम्बावेविरूद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेपछि उनी अहिले भारतीय कप्तानको रूपमा टोलीमा फर्किएका छन्।
पहिलो एकदिवसीय खेलको एक दिनअघि राहुलले भने, ‘सबैभन्दा पहिले म आफूलाई एक खेलाडीको रूपमा देख्छु। बाउन्ड्री लाइन पार गरेपछि मात्र कप्तान बन्छु। हामी लामो समयदेखि सँगै खेल्दै आएका छौं। समूहमा हामीले सँगै भ्रमण गरेका छौं। हामी धेरै युवा खेलाडी भए पनि आईपीएलमा सँगै वा एकअर्काको विरूद्धमा धेरै खेल्यौं। दुई महिनाको लागि बाहिर रहे र सबैसँग कुराकानी गर्दै भारतीय ड्रेसिङ रूममा फर्केर आउन पाउँदा राम्रो लाग्यो।’
राहुलले अन्तिम पटक मेमा खेलका थिए। चोटबाट फर्किएपछि उनी भारतीय टोलीको कप्तानी गर्दै छन्। ‘मेरो एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय डेब्यू हरारेमा भएको थियो जहाँ मैले मेरो पहिलो खेलमा शतक बनाएको थिएँ। मसँग यसको याद छ। यति धेरै वर्षपछि यहाँ फर्केर आफ्नो देशको नेतृत्व गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने।
राहुलले आफू अरूको नेतृत्व शैलीको नक्कल गर्ने प्रयास नगर्ने स्पष्ट पारे। ‘म आफूलाई (विराट कोहली या एमएस धोनीको कप्तानी शैलीसँग) तुलना गर्दिन। किनभने उहाँहरूका उपलब्धिहरू धेरै छन्। म अझै सानै छु र कप्तानको रूपमा यो मेरो दोस्रो सिरिज हो। मैले उहाँहरूको नेतृत्वमा खेलेको छु र उहाँहरूबाट धेरै कुरा सिकेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।