काठमाडौं– राशिद खान विश्वका उत्कृष्ट टी–२० खेलाडीमध्ये एक हुन्। उनले आफ्नो बलिङमा विविधता ल्याउने प्रयास पनि गरिरहन्छन्। हालैका खेलहरूमा उनले ‘स्लो लेग स्पिन’ बलको प्रयास गरेका छन्।
ईएसपीएन क्रिकइन्फोसँग कुरा गर्दै उनले भने,‘म नयाँ प्रकारका बलहरूमा प्रयास गरिरहेको छु। यसअघि मैले स्लो लेग स्पिन बलमा काम गरेको थिएँ। पाकिस्तान सुपर लिग (पीएसएल) र सिरिजमा पनि मैले प्रयास गरेको थिएँ। बंगलादेशविरूद्ध यो राम्रो प्रयोग थियो। तर, अब यसलाई थप नियन्त्रणमा राख्नु पर्नेछ।’
उनले खेलमा प्रयोग गर्नुभन्दा पहिले धेरै अभ्यास गर्नुपर्ने बताएका छन्। त्यसैले एसिया कपमा र विश्वकपमा आफ्नै पुरानो शैलीमा बलिङ गर्ने उनले बताए। रशिदले टी–२० खेलमा १७.८९ को औसत र ६.३९ को इकोनोमीमा ४६९ विकेट लिएका छन्। उनले थपे, ‘म चिजहरू सरल राख्न चाहन्छु। भोलि के हुन्छ भनेर म धेरै सोच्दिनँ। कसरी एकरूपताका साथ राम्रो लाइन-लेन्थ बल गर्ने हो मेरो दिमागमा यही अडिक छ।’
रशिद हालै ‘द हन्ड्रेड’ प्रतियोगितामा खेलिरहेका थिए। त्यसपछि उनले आयरल्यान्डविरूद्धको पाँच खेलको टी–२० सिरिजमा भाग लिए। अब उनी एसिया कपका लागि प्रस्थान गर्नेछन् र त्यसपछि अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नुपर्नेछ। विश्वकपपछि उनले अस्ट्रेलियामा बिग ब्यास लिग र त्यसपछि दक्षिण अफ्रिकामा आयोजना हुने टी–२० लिगमा भाग लिनेछन्, जहाँ उनी माई केप टाउन टोलीको हिस्सा हुनेछन्।
यसबारे राशिद भन्छन्, ‘एक क्रिकेटरको हैसियतले तपाईंलाई सधैँ थाहा हुनुपर्छ, तपाईं कति क्रिकेट खेल्न सक्नुहुन्छ? तपाईंको शरीरले कति भार सहन सक्छ? हाम्रो (अफगानिस्तानको) अन्तर्राष्ट्रिय क्यालेन्डर त्यति व्यस्त छैन। यदि हामीसँग पनि १० टेस्ट म्याच खेल्ने हो भने मैले धेरै लिगहरू गुमाउनुपर्छ। हामीले एक वर्षमा एक या दुईवटा टेस्ट खेल्छौँ। जसले गर्दा मलाई विश्वभर खेल्न सजिलो हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।