काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पुरुष क्रिकेटको एफटीपी (फ्युचर टुर प्रोग्राम) सार्वजनिक गरेको छ।
आईसीसीले बुधबार सन् २०२३ देखि २०२७ सम्मका लागि सार्वजनिक गरेको पुरुष क्रिकेटको एफटीपीमा भारतीय टोलीले आगामी ५ वर्षमा द्विपक्षीय सिरिजअन्तर्गत १३८ खेल खेल्नेछ। जसमा ३८ टेस्ट, ३९ एकदिवसीय र ६१ टी–२० खेल समावेश छन्।
भारतीय टोलीले आईसीसी र एसिया कपजस्ता प्रतियोगितामा पनि सहभागिता जनाउनेछ। आईसीसीको तालिका अनुसार भारतले आगामी दिनमा टी–२० क्रिकेटमा थप जोड दिनेछ। अर्को पाँच वर्षमा भारतीय टोलीले अगस्ट २०२४ मा एक महिनाको आराम पाउन सक्छन्। यसबाहेक भारतीय खेलाडीहरू पाँच वर्षसम्म हरेक महिना कुनै न कुनै सिरिज या प्रतियोगितामा सहभागी हुनेछन्।
भारतले एकदिवसीय क्रिकेटको सिरिज पनि खेल्ने छ। तर, अधिकांश सिरिज तीन खेलको हुनेछ। दुई देशबीचको राजनीतिक सम्बन्ध राम्रो नभएकाले भारतले पाकिस्तानसँग कुनै द्विपक्षीय सिरिज खेल्ने छैन।
बोर्डर–गावस्कर ट्रफीमा पाँच टेस्ट
भारत र अस्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीमा पाँच टेस्ट खेल हुनेछन्। यसअघि यो सिरिज चार टेस्टको थियो। यसबाहेक भारतीय टोलीले इङ्ग्ल्यान्डसँग पाँच टेस्टको सिरिज पनि खेल्नेछ। भारतले दुवै देशसँग टी–२० ढाँचामा पाँच खेलको सिरिज पनि खेल्नेछ।
अर्को वर्ष जुलाई–अगस्टमा भारतीय टोलीले वेस्ट इन्डिजको भ्रमण गर्नेछ। जसमा दुई टेस्ट, एकदिवसीय र तीन टी–२० खेल समावेश छन्। यसबाहेक २०२४ मा जनवरी र मार्चको बीचमा भारतले इङ्ल्यान्डविरुद्ध पाँच टेस्टको घरेलु सिरिज खेल्नेछ।
अस्ट्रेलियाले २०२३ को सुरुमा भारत भ्रमण गर्ने
अस्ट्रेलियाको टोली बोर्डर–गावस्कर ट्रफीअन्तर्गत चार खेलको सिरजका लागि २०२३ को सुरुमा भारत भ्रमण गर्नेछ। त्यसपछि भारतले डिसेम्बर २०२४ र जनवरी २०२५ मा अस्ट्रेलियाको भ्रमण गर्नेछ, जसमा पाँच टेस्टको सिरिज खेलिनेछ।
सन् १९९१ पछि भारतीय टोलीले अस्ट्रेलियामा पाँच खेलको टेस्ट सिरिज खेल्न लागेको यो पहिलो पटक हो। सेप्टेम्बर २०२४ मा भारतले बंगलादेशसँग दुई टेस्टको सिरिज खेल्नेछ।
जिम्बाब्वेविरुद्धको हालको सिरिजसहित भारतीय टोलीले २०२३ मा एकदिवसीय विश्वकप अघि २७ खेल खेल्नेछ। जसमा दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको घरेलु एकदिवसीय सिरिज र टी–२० विश्वकपको लगत्तै न्यूजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज समावेश छ। प्रतियोगिता अक्टोबर र नोभेम्बरमा आयोजना हुनेछ। यो प्रतियोगिता भारतले आयोजना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।