काठमाडौं– घरेलु टोली नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय खेलमा भ्रमणकारी टोली पाकिस्तानले जित हात पारेको छ। मंगलबार सम्पन्न खेलमा पाकिस्तान १६ रनले विजयी भएको हो। जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ।
पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए। उनले ६० बलमा ६ चौका र १ छक्का प्रहार गरे। यता, टम कुपरले ५४ बलमा ६ चौका र २ छक्कासहित ६५ रनको अर्धशतकीय इनिङ्स खेले।
विक्रमजित सिंहले ९८ बलमा ५ चौकासहित ६५ रन बनाए। लोगन भान बिकले २८ रन बनाए। बास डि लिडीले १६ तथा टिजा मानुरुले १५ रन बनाए।
पाकिस्तानका हरिस रउफ तथा नसिम शाहले समान ३/३ विकेट लिए। यता, मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए।
त्यसअघि रोटरड्याममा पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनाएको थियो। उसका लागि फकर जमानले १०९ रनको शतकीय इनिङ्स खेले। उनले १०९ बलमा १२ चौका र १ छक्का प्रहार गरे।
कप्तान बाबर अजामले ८५ बलमा ६ चौका र १ छक्कासहित ७४ रनको अर्धशतकीय इनिङ्स खेले। सादाव खानले अविजित ४८ तथा आगा सलमानले अविजित २७ रन बनाए।
नेदरल्यान्ड्सका लोगान भान विक तथा बास डि लिडीले समान २/२ विकेट लिए। भिभिएन किंग्माले १ विकेट लिए। दुई टोलीबीचको दोस्रो एकदिवसीय बिहीबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।