काठमाडौं– आयरल्यान्डका लागि सबैभन्दा बढी खेल खेलेका केभिन ओब्रायनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। यससँगै उनको १५ वर्षको करिअरको अन्त्य भएको छ।
ओब्रायनलाई सन् २०११ मा भारतस्थित बैंग्लोरमा भएको विश्वकपमा इङ्ल्यान्डविरुद्धको ६३ बलमा ११३ रनको खेलका लागि याद गरिन्छ। उनको यही सानदार इनिङ्सको मद्दतमा आयरल्यान्डले अन्तिम ओभरमा तीन विकेटले खेल जितेको थियो।
ओब्रायनले आफ्नो ट्विटरमा लेखेका छन्, ‘मैले आयरल्यान्डका लागि खेल्दा हरेक मिनेट रमाइलो गरेको छु। मैदान बाहिर धेरै साथी बनाएको छु र देशका लागि खेल्दा मेरा धेरै सम्झनाहरू छन्। मेरा सबै गर्वका क्षणहरू र मनपर्ने सम्झनाहरू आयरल्यान्डका फ्यानहरूका हुन्।’
आयरल्यान्डले अहिलेसम्म तीन टेस्ट खेलेको छ र ओब्रायन तीनवटैमा टोलीको हिस्सा बनेका छन्। यसबाहेक उनले १५३ एकदिवसीय र ११० टी–२० खेलेका छन्। उनले गत वर्ष युएईमा भएको टी–२० विश्वकप छनोटमा नामिबियाविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
यो उनको लागि खराब वर्ष थियो। २०२१ मा उनले १४ टी–२० इनिङ्समा ३०१ रन मात्र बनाउन सके। श्रीलंका र नामिबियासँग पराजित भएको आयरल्यान्ड टी–२० विश्वकपको सुपर १२ मा पुग्न असफल भएको थियो। यी तीन इनिङ्समा उनले ९, ५ र २५ रन मात्र बनाएका थिए ।
त्यसपछि उनले आयरल्यान्डबाट खेल्ने मौका पाएनन्। ओब्रायनले लेखेका छन्, ‘मैले सन् २०२२ मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपपछि आफ्नो करिअरको अन्त्य गर्ने अपेक्षा गरेको थिएँ, तर पछिल्लो विश्वकपदेखि म टोलीमा छनोट भएको छैन। मलाई लाग्छ, उप्रान्त हुनेछैन।’
उनले गत वर्ष एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए। ओब्रायनले सन् २००६ मा एकदिवसीय खेलमा डेब्यू गरेका थिए। त्यसपछि उनले लगातार खेले। उनले आफ्नो अन्तिम एकदिवसीय खेल सन् २०२१ मा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।