काठमाडौं– न्यूजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरी करङको चोटका कारण वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजबाट बाहिरिएका छन्।
उनको स्थानमा बेन सियर्सलाई टोलीमा समावेश गरिएको छ। न्यूजिल्यान्ड क्रिकेटले विज्ञप्ति जारी गर्दै हेनरीले गत हप्ता अभ्यासका क्रममा बायाँ छेउमा दुखाइ महसुस गरेको र त्यसपछि उनको अवस्थामा सुधार नभएको जानकारी दिएको छ। जसका कारण प्रतिस्थापन खेलाडीलाई टोलीमा समावेश गर्ने निर्णय भएको हो।
हेनरी पहिलो दुई टी–२० आई खेलमा सहभागी थिएनन्। हेनरीले जुलाईमा आयरल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा तीन खेलमा चार विकेट लिएका थिए। त्यसपछि उनी काउन्टी क्रिकेटमा केन्टका लागि खेल्न न्यूजिल्यान्डको टोलीबाट विदा भएका थिए।
मुख्य प्रशिक्षक ग्यारी स्टेडले चोट गम्भीर नभएको र सावधानीका लागि हेनरीलाई टोलीबाट बाहिर राख्ने निर्णय गरिएको बताए। ‘टूरको यो चरणमा म्याट स्वदेश फर्कनु दुर्भाग्यपूर्ण हो। चोट धेरै गम्भीर नभए पनि खेल्दा यसले झन् झन् स्थिति बिगार्न सक्छ,’ उनले भने।
६ वटा टी–२० आई खेलेका सियर्स एकदिवसीय डेब्यूको पर्खाइमा छन्। उनले १४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा बलिङ गर्न सक्छन्।
न्यूजिल्यान्डको वेस्ट इन्डिज भ्रमण २१ अगस्टमा अन्तिम एकदिवसीय खेलसँगै समाप्त हुनेछ। स्वदेश फर्किएपछि न्यूजिल्यान्डको टोली सेप्टेम्बर २ मा अस्ट्रेलिया प्रस्थान गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।