काठमाडौं– मध्यक्रमका ब्याट्सम्यान शिमरोन हेटमायरले वेस्ट इन्डिजको एकदिवसीय टोलीमा पुनरागमन गरेका छन्। उनी गत महिना वेस्ट इन्डिजको टी–२० टोलीमा फर्किएका थिए।
न्यूजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजका लागि वेस्ट इन्डिजले घोषणा गरेको १४ सदस्यीय टोलीमा उनले पुनरागमन गरेका हुन्।
हेटमायर नोभेम्बर २०२१ पछि भारतविरुद्धको टी–२० आई सिरिजबाट वेस्ट इन्डिजको टोलीमा फर्किएका थिए। उनी फिटनेसका कारण टोलीबाट बाहिरिएका थिए।
यसबाहेक गुयानाका अफ स्पिन बलिङ अलराउन्डर केभिन सिन्क्लेयर पनि टोलीमा परेका छन्। उनले टी–२० मा डेब्यू गरेपनि एकदिवसीयमा स्थान बनाउन सकेका थिएनन्।
बायाँ हाते स्पिनर गुडाकेश मोती पनि टोलीमा फर्किएका छन्। गत महिना भारतविरुद्धको एकदिवसीय सिरिजमा उनको औंलामा चोट लागेको थियो।
योसँगै लेग स्पिनर हेडेन वाल्श, आक्रामक मिडल अर्डर ब्याट्सम्यान रोभम्यान पावेल र फास्ट बलिङ अलराउन्डर रोमारियो शेफर्ड टोलीबाट बाहिरिएका छन्। शेफर्डको लय वेस्ट इन्डिजका लागि लामो समयदेखि चिन्ताको विषय बनेको छ। शेफर्डको इकोनोमी (१०.२८) यस वर्ष ओडीआईमा एक इनिङ्सको अन्तिम १० ओभरमा कम्तिमा ६० ओभर बलिङ गर्ने बलरहरूमध्ये सबैभन्दा खराब छ।
स्पिन बलिङ अलराउन्डर रोस्टन चेस चोटका कारण टोलीबाट बाहिरिएका छन्। यता, फेबियन एलन व्यक्तिगत कारण उपलब्ध छैनन्। न्यूजिल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेल अगस्ट १७ बाट सुरु हुनेछ।
वेस्ट इन्डिजको टोलीः
निकोलस पुरन (कप्तान), शे होप (उपकप्तान), शामर ब्रुक्स, केसी कार्टी, शिमरोन हेटमायर, जेसन होल्डर, अकिल हुसेन, अल्जारी जोसेफ, ब्रान्डन किंग, काइल मेयर्स, गुडाकेश मोती, किमो पल, जेडेन सिल्स, केभिन सिन्क्लेयर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।