काठमाडौं– भारतका पूर्वकप्तान तथा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले लेजेन्ड्स लिग क्रिकेट प्रतियोगितामा भारत महाराजा टोलीको नेतृत्व गर्ने भएका छन्।
कोलकाताको इडेन गार्डेनमा हुने यो प्रतियोगिता एब्सोल्यूट लेजेन्ड्स स्पोर्ट्सले आयोजना गरेको हो। भारत महाराजाले सेप्टेम्बर १५ मा ओएन मोर्गनको नेतृत्वमा रहेको वर्ल्ड जायन्ट्सविरुद्ध खेल्ने छ।
भारत महाराजामा भारतीय टोलीबाट खेलिसकेका वीरेन्द्र सहवाग, मोहम्मद कैफ, हरभजन सिंह, इरफान पठान र पार्थिव पटेल छन्। उनीहरु बाहेक अन्य धेरै खेलाडी मैदानमा हुनेछन्।
भारत महाराजाको टोलीमा पूर्व भारतीय फास्ट बलर एस श्रीसन्त पनि छन्, जसले यसै वर्ष क्रिकेटबाट सन्यास लिएका थिए। इन्डियन प्रिमियर लिग (आईपीएल)को फिक्सिङ काण्डमा ७ वर्षको प्रतिबन्ध सकिएपछि श्रीसन्त गत वर्ष उच्चस्तरीय क्रिकेटमा फर्किएका थिए।
मोर्गनको नेतृत्वमा रहेको वर्ल्ड जायन्ट्स टोलीमा ज्याक कालिस, जोन्टी रोड्स, डेल स्टेन र हर्शेल गिब्स छन्। १७ सदस्यीय टोलीमा श्रीलंकाका सनथ जयसूर्या र मुथैया मुरलीधरन छन् भने अस्ट्रेलियाका ब्रेट ली र मिचेल जोन्सन छन्।
लिगको पहिलो संस्करण यसै वर्षको जनवरीमा ओमानमा खेलिएको थियो। लिगमा भारत महाराजा, वर्ल्ड जाइन्ट्स र एसिया लायन्स गरी तीन टोलीको सहभागिता रहेको थियो। दोस्रो सिजनमा ४ टोलीको सहभागिता रहनेछ र जम्मा १५ खेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।