काठमाडौं– जिम्बाब्वे भ्रमणका लागि भारतीय क्रिकेट टोलीमा ठूलो परिवर्तन गरिएको छ। भारतीय टोली छनोटकर्ताले शिखर धवनको स्थानमा केएल राहुललाई टोलीको कमाण्ड सुम्पिएको छ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)का सचिव जय शाहले एक विज्ञप्तिमा भनेका छन्,‘बीसीसीआईको मेडिकल टोलीले राहुलको परीक्षण गरी जिम्बाब्वेमा हुने एकदिवसीय सिरिजका लागि फिट घोषित गरेको छ।’
टोलीका नियमित उपकप्तान राहुलले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ यता कुनै पनि खेल खेलेका छैनन्। दक्षिण अफ्रिका विरुद्धको पाँच टी–२० खेलका लागि उनलाई भारतीय टोलीको कप्तान नियुक्त गरिएको थियो। तर, तिघ्राको चोटका कारण उनी सिरिजबाट बाहिरिएका थिए। यसपछि उनी इङ्ग्ल्याण्ड भ्रमणबाट पनि बाहिरिएका थिए ।
यस क्रममा उनले जुनमा हर्नियाको शल्यक्रिया गराएका थिए। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजका लागि उनी फिट देखिएका थिए। तर, उनलाई कोरोना संक्रमण भयो ।
तीन खेलको एकदिवसीय सिरिजका लागि नियमित कप्तान रोहित शर्मालाई आराम दिइएको छ। यसबाहेक सूर्यकुमार यादव, श्रेयस अय्यर, अर्शदीप सिंह, रविन्द्र जडेजा र युजवेन्द्र चहल पनि टोलीमा छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।