काठमाडौं– अस्ट्रेलिया महिला क्रिकेट टोलीकी कप्तान मेग ल्यानिङले व्यक्तिगत कारणले अनिश्चितकालीन ‘ब्रेक’ लिएकी छन्। हालसालै अस्ट्रेलियालाई कमनवेल्थ गेम्स–२०२२ मा स्वर्ण पदक, २०२० को टी–२० विश्वकप र २०२२ मा एकदिवसीय विश्वकप जितेकी ल्यानिङले ‘द हन्ड्रेड’ गुमाउने छिन्।
उनी ‘द हन्ड्रेड’मा ट्रेन्ट रकेटको हिस्सा थिइन्। यसैबीच, अस्ट्रेलियाको घरेलु सिजन सेप्टेम्बरको अन्त्यमा सुरु हुँदैछ। महिला ‘बिग बास’ लिग पनि अक्टोबरमा हुने भएको छ। अस्ट्रेलियाको अर्को भ्रमण डिसेम्बरको मध्यमा भारतमा हुनेछ। उसले भारतमा टी–२० सिरिज खेल्नेछ। यसपछि अस्ट्रेलियाले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपअघि जनवरीमा पाकिस्तानलाई आतिथ्य गर्ने छ।
ल्यानिङले भनिन्, ‘केही व्यस्ततापछि एक्लै समय बिताउनको लागि मैले यो निर्णय लिएको छु। म क्रिकेट अस्ट्रेलिया र मेरो टोलीका साथीहरूप्रति आभारी छु। यो समयमा मेरो गोपनीयताको सम्मान हुने छ भन्ने आशा गर्दछु।’
ल्यानिङले २०१० मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन्। २१ वर्षको उमेरमा २०१४ मा उनले अस्ट्रेलियाको कप्तानी सम्हालेकी थिइन्। उनको कप्तानीमा अस्ट्रेलियाले १७१ खेलमध्ये १३५ मा जित हात पारेको छ। उनले २०१७ यता पाँचवटा अन्तर्राष्ट्रिय खेल अनुपस्थित थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।