काठमाडौं– आउँदो जनवरी र फेब्रूअरीमा हुने इन्टरनेशनल लिग टी–२० (आईएलटी–२०) मा अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर रहेनन्।
तर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका मोइन अली, श्रीलंकाका वानुन्द हसरांगा, इङ्ग्ल्यान्डका एलेक्स हेल्स, वेस्ट इन्डिजका शिमरोन हेटमायर, इङ्ग्ल्यान्डका क्रिस जोर्डन र अफगानिस्तानका मुजिब उर रहमानजस्ता ठूला खेलाडीहरू सहभागी हुनेछन् ।
लिगका छ वटा फ्रेन्चाइजीहरू रिलायन्स इन्डस्ट्रिज, कोलकाता नाइट राइडर्स, क्याप्री ग्लोबल, जीएमआर, ल्यान्सर क्यापिटल र अदानी स्पोर्ट्सलाइनले यी खेलाडीहरूलाई भित्र्याउन कसरत गरिरहेका छन्।
हाल भारत, पाकिस्तान र बंगलादेशका कुनै पनि खेलाडीलाई यस लिगमा समावेश गर्ने अपेक्षा गरिएको छैन। यद्यपि, क्रिस लिन प्रारम्भिक सूचीमा नाम परेका एक मात्र अस्ट्रेलियाका खेलाडी थिए।
तर, क्रिकेट अस्ट्रेलियाले अहिलेसम्म कुनै पनि खेलाडीले लिग खेल्नको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नमागेको बताएको छ।
अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितालाई ध्यानमा राख्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले यस प्रतियोगिताका लागि एनओसी नदिने निर्णय गरेको छ। यता, बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले पनि आफ्ना खेलाडीलाई एनओसी दिएको छैन। यद्यपि, इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने फ्रेन्चाइजीका मालिकहरू यस लिगमा समावेश भएको कारण भारतीय खेलाडीलाई एनओसी दिने सम्भावना उच्च छ।
‘विगत केही हप्ताहरूमा ६ आईएलटी फ्रान्चाइजीहरूले खेलाडीहरू र उनीहरूका एजेन्टहरूसँग छलफल गरिरहेका छन्,’आईएलटी–२० का अध्यक्ष खालिद अल जरूनीले भने।
आईएलटी–२०का फ्रेन्चाइजीहरूले पहिलो चरणमा डेभिड मलान, सुनिल नारायण, इभिन लुइस, कोलिन म्यानरो, फाबियन एलेन, साम बिलिङ्स, टम कुरान, दुष्मन्ता चमिरा, अकिल हुसेन, टम ब्रान्टन, सन्दीप लामिछाने, रोभमान पावेल र भानुका राजापाक्षेलाई भित्र्याइसकेको छ।
विज्ञप्तिमा लाहिरू कुमारा, सीकुगे प्रसन्ना, चरित असालान्का, इसुरू उडान र निरोशन डिकवेला (श्रीलंका), केनान लुइस, रवि रामपाल, रेमन रेफर, डोमिनिक ड्रेक्स र शेरफेन रदरफोर्ड (वेस्ट इन्डिज), हजरतुल्लाह जाजाईलगायत ३३ अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूले खेल्ने पक्का भएको बताइएको छ।
कैस अहमद, नूर अहमद, रहमानुल्लाह गुरबाज र नवीन उल हक (अफगानिस्तान), डेन लरेन्स, जेमी ओभरटन, लियाम डसन, रिचर्ड ग्लेसन, जेम्स भिन्स, साकिब महमूद, बेन डकेट र बेनी होवेल (इङ्ग्ल्यान्ड), रबानी बबानी रजा (जिम्बाबे), ब्रान्डन ग्लोभर र फ्रेडरिक क्लोसन (नेदरल्यान्ड), डेभिड वेइस र रूबेन ट्रम्पलम्यान (नामिबिया), कोलिन इन्ग्राम (दक्षिण अफ्रिका), जर्ज मानसी (स्कटल्यान्ड), पल स्टर्लिङ (आयरल्यान्ड) र अली खान (अमेरिका) पनि यो प्रतियोगिता खेल्ने लिस्टमा छन्।
१८ खेलाडीको टोलीमा एसोसिएट देशका दुई र युएईबाट चार खेलाडी हुनुपर्ने बताइए पनि अन्तर्राष्ट्रिय खेलाडी अनुबन्ध भएपछि मात्र छनोटको प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।