काठमाडौं– तीव्र गतिका बलर ट्रेन्ट बोल्ट न्यूजिल्यान्ड क्रिकेट टोलीको केन्द्रीय सम्झौताबाट बाहिरिएका छन्। यसले अब उनको अन्तर्राष्ट्रिय करिअरलाई असर गर्ने सम्भावना छ।
बुधबार घोषणा हुनुअघि ३३ वर्षीय बोल्टले न्यूजिल्यान्ड क्रिकेटसँग धेरै कुराकानी गरेका थिए। यो कदमले न्यूजिल्यान्ड क्रिकेटको घरेलु सिजनलाई पनि असर पार्ने सम्भावना छ।
युएई या दक्षिण अफ्रिका लिगमा बोल्टको सहभागिता छिट्टै घोषणा हुने सम्भावना छ। तर, न्यूजिल्यान्ड क्रिकेटका सीईओ डेभिड ह्वाइटले उनी अस्ट्रेलियामा हुने टी–२० आई खेलमा सहभागी हुने सम्भावना रहेको जानकारी दिए। यससँगै उनले वेस्ट इन्डिज भ्रमण पनि पूरा गर्नेछन्।
न्यूजिल्यान्ड क्रिकेटको विज्ञप्ति अनुसार बोल्टले विभिन्न टूरबाट थकान महसुस गरिरहेको बताएका थिए। यस्तै, उनले परिवारसँग थप समय बिताउने इच्छा व्यक्त गरेका थिए।
बोल्टले भने, ‘यो मेरो लागि कठिन निर्णय हो। मलाई समर्थन गरेकोमा न्यूजिल्यान्ड क्रिकेटलाई धन्यवाद दिन चाहन्छु। देशका लागि क्रिकेट खेल्ने मेरो बाल्यकालको सपना थियो र विगत १२ वर्षदेखि म यस टोलीमा थिएँ, म खुशी छु।’
उनले थपे,‘यो निर्णय लिने जस मेरी श्रीमती र मेरा तीन साना छोराछोरीलाई जान्छ। परिवार सधैं मेरो लागि प्रेरणाको स्रोत हो। म यसलाई पहिलो स्थानमा राख्न चाहन्छु।’
बोल्टले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छैनन्। तर, अहिले न्यूजिल्यान्डबाट खेल्ने सम्भावना कम छ। यसले न्यूजिल्यान्डका लागि उनको छनोटलाई असर गर्ने छ।
बोल्टले भने, ‘मेरो देशको प्रतिनिधित्व गर्ने ठूलो सपना थियो। मसँग अन्तर्राष्ट्रिय स्तरको सीप छ भन्ने महसुस गरेँ। तर, केन्द्रीय सम्झौतामा नबस्नेले मेरो छनोटमा असर पार्नेबारे म सचेत छु। तीव्र गतिका बलरको रूपमा मेरो करिअर सीमित छ र मलाई लाग्छ यो अर्को राउन्डमा जानको लागि सही समय हो।’
यसवर्षको सुरूमा बोल्टले इन्डियन प्रिमियर लिग (आईपीएल)बाट सिधै इङ्ल्यान्डविरूद्ध टेस्ट सिरिज खेलेका थिए। उनले राजस्थान रोयल्सको तर्फबाट मे २९ मा अहमदाबादमा भएको फाइनलसहित १६ खेल खेले।
मात्र पाँच दिनपछि उनले जुन २ बाट टेस्ट खेले। उनले त्यतिखेर करिब ३८ ओभर बलिङ गरे। तर, त्यसपछि उनलाई युरोप भ्रमणमा आराम दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।