काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन्। अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यासँग हुने टी–२० आई र एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्रलाई टोलीमा समावेश गरेको हो।
ओमानमा गत फागुनमा सम्पन्न चारदेशीय टी–२० आई सिरिज र त्यसपछि आयोजित आईसीसी टी–२० पुरूष विश्वकप क्रिकेटको ग्लोबल छनोटमा ज्ञानेन्द्रले सन्दीप लामिछानेको कप्तानीमा खेलेका थिए। त्यसयता उनी टोलीमा अटाउन सकेका थिएनन्।
उनको अनुपस्थितिमा नेपाली टोलीले ५ वटा सिरिज खेलिसकेको छ। ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा समाचारमाध्यममा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ (क्यान)बाट अनुशासनको कारबाहीस्वरूप कप्तान पद गुमाएका थिए।
कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग–२ खेले। तर, त्यसपछि भने क्यानसँगको ‘इगो प्रोब्लम’का कारण ज्ञानेन्द्र टोलीमा पर्न छाडेका थिए।
नेपालले घरेलु टोलीले केन्यासँग ५ टी–२० आई र ३ एकदिवसीय सिरिज खेल्ने छ। क्यानका अनुसार नेपाल टी–२० आई अन्तर्गत पहिलो खेल केन्यासँग अगष्ट २५ मा खेल्ने छ। त्यस्तै, अगष्ट २६,२८, २९ र ३० मा नेपालले ४ टी–२० आई खेल खेल्ने छ।
त्यस्तै, सेप्टेम्बर २,३ र ५ मा नेपालले केन्यासँग ३ एकदिवसीय खेल खेल्ने छ। क्यानले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा घोषणा गरेको १६ सदस्यीय टोलीमा सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने युवा विकेटकिपर अर्जुन साउदलाई पहिलो पटक स्थान बनाएका छन्।
अर्जुनले नेपालको यू–१९ टोलीबाट खेलिसकेका छन्। अर्जुन विकेटकिपरसँगै विष्फोटक ब्याटिङ गर्ने छन्। उनीबाहेक जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाहसहित ४ खेलाडीलाई वैकल्पिक रुपमा राखिएको छ।
तर, विनोद भण्डारी र कुशल भुर्तेल भने टोलीमा छैनन्। कप्तान सन्दीपले टी–२० आईमा कप्तानी गर्नेछन्। बाँकी तीन एकदिवसिय अभ्यास खेलमा भने रोहित पौडेलले कप्तानी गर्ने क्यानले बताएको छ।
सन्दीप टी–२० आई सिरिजपछि क्वारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज जानेछन्। सीपीएल ३१ अगष्टदेखि सुरु हुनेछ। सन्दीपले जमैका तलवाजबाट सीपौएल खेल्नेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।