काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर यसै साता नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार उनी शुक्रबारसम्म नेपाल आइपुग्ने छन्।
‘नयाँ जिम्मेवारीका साथ उहाँ (मनोज प्रभाकर) नेपाल आउँदै हुनुहुन्छ। प्रकृया मिलाउन बाँकी छ। त्यसैले आउन समय लाग्छ,’ मल्लले नेपाल लाइभसँग भने।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले साउन ४ गते राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली मुख्य प्रशिक्षकविहीन थियो। क्यानले पुबुदुसँग २ वर्षको सम्झौता गरेको थियो। तर, उनले पारिवारिक कारण देखाउँदै ६ महिनामै नेपाली टोलीबाट राजीनामा दिएका थिए।
मनोजलाई क्यानले सोमबार नियुक्त गरेको हो। उनीसँग एक वर्षे सम्झौता गरेको छ। नेपाली टोली यही महिनाको तेस्रो सातामा केन्या भ्रमणका लागि निस्किँदै छ। केन्यामा रहँदा नेपालले ५ खेलको टी–२० सिरिज खेल्नेछ। नेपालले केन्याको राष्ट्रिय टोलीसँग ३ खेलको ५० ओभरको अभ्यास सिरिज पनि खेल्ने छ।
‘उहाँको पहिलो खेल केन्यासँग हुने छ। केन्या भ्रमणकाबारे तथा सहभागी खेलाडीको जानकारी आज (मंगलबार) आउने छ,’ मल्लले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।