काठमाडौं- नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले मंगलबार एउटा नेता उही निर्वाचन क्षेत्रबाट आजीवन उम्मेदवार बन्ने अवस्थाको अन्त्य गर्न माग गरेकी छिन्। यही मंसिरमा हुने निर्वाचनअघि नै त्यस्तो कानुनी व्यवस्था गर्न उनले माग गरेकी हुन्।
संसद्मा ध्यानाकर्षण प्रस्ताव पेस गर्दै उनले निर्वाचन सम्बन्धी कानुन संशोधन गर्दा यसलाई ध्यान दिनुपर्ने बताएकी हुन्। उनले संसद्मा भनिन्, 'संघीय संसद्को प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक र पहिलो हुने दुवै निर्वाचन प्रणालीअन्तर्गत एउटा व्यक्ति, एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीअन्तर्गत निरन्तर बढीमा २ पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्छ। अहिलेको कोही आजीवन उम्मेदवार भइरहने र अरु आजीवन कसैको लागि मतदाता मात्रै बन्नुपर्ने अवस्थाको छ, यसको अन्त्य हुनुपर्छ।'
यदि कोही नेतालाई सांसद बनाउनै पर्ने भए फरक निर्वाचन प्रणाली र फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउनुपर्ने उनको भनाइ छ। यी विविध विषयमा संशोधन गर्नुपर्ने भएकाले निर्वाचन सम्बन्धी कानुन संसद्मा ल्याउन माग गरिन्।
उनले आशंका गरिन्, 'त्यो विधेयक संसदमा नआइ अधिवेशन अन्त्य हुने हो कि भन्ने डर छ। अहिले भइरहेको अवस्थाबाटै हुने निर्वाचन नेपाली नागरिकबाट स्वीकार्य हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।