काठमाडौं– भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर जस्प्रित बुमराहले अगष्ट अन्तिममा युएईमा हुने एसिया कप गुमाउने भएका छन्।
बुमराह ब्याक इन्जुरीको कारण उक्त प्रतियोगिता गुमाउने भएका हुन्। योर्कर र डेथ ओभरका उत्कृष्ट बलर बुमराहले चोटका कारण वेस्ट इन्डिज भ्रमणमा विश्राम लिएका थिए।
पछिल्लो पटक बुमराहले जुलाई १४ मा इङ्ग्ल्यान्डविरुद्ध ओडीआई खेल खेलेका थिए। उनले तीन टी–२० आई सिरिजमा एक खेल मात्र खेलेका थिए।
बुमराहको अनुपस्थितमा भारतको तीव्र गतिको बलिङ आक्रामक तुलनात्मक रुपमा कमजोर बनेको छ।
यसअघि नै अर्का तीव्र गतिका बलर हर्षल पटेल छातीमा चोटका कारण एसिया कप गुमाएका छन्। हर्षलले टी–२० विश्वकप पनि गुमाउने सम्भावना छ।
उनले शनिबार करङको चोटका कारण वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज गुमाएका थिए। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले फ्लोरिडामा भइरहेको चौंथो खेलअघि हर्षललाई करङको चोट लागेको जानकारी दिएको थियो।
तर, बीसीसीआईले हर्षललाई यो चोट इङ्ल्यान्ड भ्रमणका क्रममा लागेको हो या वेस्ट इन्डिजमा आएपछि हो भन्ने स्पष्ट पारेको छैन।
हर्षलले इङ्ल्यान्डविरुद्ध तीन वटै टी–२० आई खेल खेलेका थिए। उनले २३.२५ को औसत र ८.४५ को इकोनोमीमा चार विकेट लिएका थिए। भारतले उक्त सिरिज २–१ ले जितेको थियो।
हर्षल गत वर्ष डेब्यू गरेदेखि नै भारतीय टी–२० टोलीको नियमित सदस्य रहेका छन्। २०२२ को १५ टी–२० खेलहरूमा उनले ८.७६ को इकोनोमीमा १९ विकेट लिएका छन्।
यो अवधिमा भुवनेश्वर कुमारले मात्रै उनीभन्दा १ विकेट बढी अर्थात् २० विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।