काठमाडौं– चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता खारेज भएको पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् परियोजना भारतीय कम्पनीलाई दिने समझदारीपत्र स्वीकृत भएको छ।
भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँगको समझदारीपत्र स्वीकृत भएको हो। सोमबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले पश्चिम सेती तथा सेती नदी– ६ जलविद्युत् परियोजना विकासका लागि एनएचपीसीलाई दिने निर्णय गरेको हो ।
अष्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजले समेत बनाउन नसकेको आयोजना भारतीय सरकारी कम्पनीले बनाउने आधार देखिएकाले यस्तो निर्णय भएको बोर्डको दाबी छ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उक्त आयोजना भारतलाई दिने सहमति गरेका थिए। त्यसको खुलासा आफ्नो निर्वाचन क्षेत्र डडेलधुरा पुगेर गरेका थिए।
भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा सम्झौता गर्ने तयारी भएपछि केही विषयमा स्पष्ट नभएको भन्दै अन्तिम समयमा रोकिएको थियो। भारतीय कम्पनीले एकै पटक १२ सय मेगावाटका दुई आयोजनाको अध्ययन अनुमति पाएको छ। यसअघि चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा दिइएको थियो भने अहिले पनि त्यही प्रक्रियाबाट भारतीय कम्पनीको प्रवेश भएकाे छ।
७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ३०८ मेगावाट उत्पादन क्षमताको सेती नदी– ६ आयोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।