वीरगञ्ज– वीरगञ्ज ठोरी हुलाकी मार्गअन्तर्गत् पर्साको तिलावे नदीमा पुल तयार भएको छ। पुल सञ्चालनमा आएपछि पर्साको ग्रामीण क्षेत्र र वीरगञ्जको आवागमन सहज हुने छ।
अहिले सोही स्थानमा रहेको पुरानो पुलबाट आवागमन भइरहेको छ। जीर्ण र साँघुरो पुलबाट आवागमन हुँदा सवारी साधनको अधिक जाम लाग्ने गरेको थियो। नयाँ पुल सञ्चालनमा आएपछि सो स्थानमा ट्राफिक जामको समस्या समाधान हुने भएको छ।
यो मार्ग पर्साको ग्रामीण क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य माध्यम हो। आयोजनाले पुल साउन २५ गते पनि सञ्चालन आउने र यसले आम रुपमा सहज हुने जनाएको छ।
निर्माण सम्पन्न पुलको पर्सा क्षेत्र नं. ३ का सांसद एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समितिका सदस्य हरिनारायण रौनियारले स्थलगत अवलोकन गरेका थिए।
यो पुल निर्माणले पर्साको ग्रामीण क्षेत्रको आवागमन सहज हुने आयोजनाको विश्वास छ।
तराईको लाइफ लाइन मानिएको हुलाकी मार्गमा बनेको यो पुलबाट पर्सा जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।
सो पुल निर्माणको जिम्मा पप्पु/लुम्बिनी जेभीले लिएको थियो। १०० मीटर लम्बाइ र ७ मीटर चौडाईको डबल लेन पुल ७ करोड ५० लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।