काठमाडौं– अलराउन्डर सिकन्दर राजा र इनोसेन्ट कैयाको शतकमा जिम्बावेले पहिलो ओडीआई खेलमा भ्रमणकारी बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ। योसँगै घरेलु टोली जिम्बावेले ३ ओडीआई खेलको सिरिजमा १-० को अग्रता लिएको छ।
जितको लागि ३०४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। जिम्बावेको जितमा सिकन्दर राजा १३५ रनमा अविजित रहे। उनले १०९ बलमा ८ चौका र ६ छक्का प्रहार गरे।
यता, इनोसेन्ट कैयाले १२२ बलमा ११ चौका र २ छक्कासहित ११० रनको शतकीय इनिङ्स खेले।
वेस्ली मेधर्वे १९ रनमा आउट भए। ल्यूक जोंगवेले २४ रन बनाए। बंगलादेशका मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, मेहदी हसन र मोद्दासेक हसनले १/१ विकेट लिए।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३०३ रन बनायो। बंगलादेशका लिटन दास ८१ रनमा रिटायर्ट हर्ट भए। उनले ८९ बलमा ९ चौका र १ छक्का प्रहार गरे।
कप्तान तमिम इकबालले ८८ बलमा ९ चौकासहित ६२ रन बनाए। अनमुल हक ६२ बलमा ६ चौका र ३ छक्कासहित ७३ रन बनाए। मुश्फिकुर रहिमले ४९ बलमा ५ चौकासहित ५२ रनमा अविजित रहे। महमुदूल्लाह रियाद २० रनमा अविजित रहे। जिम्बावेका भिक्टर न्याउची र राजाले १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।