काठमाडौं– भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई मेडिकल टोलीको निगरानीमा राखिएको छ। सेन्ट किट्समा वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–२० आई खेलमा रोहित ११ रनको स्कोरमा 'रिटायर्ड हर्ट' भएर पेभिलियन फर्किएका थिए।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआईले उनी मेडिकल टोलीको निगरानीमा रहेको जानकारी दिएको हो। १६५ रनको लक्ष्य पछ्याउँदै अल्जारी जोसेफविरुद्ध बाउन्ड्री प्रहार गरेपछि दोस्रो ओभरमा रोहित पीडामा देखिएका थिए।
फिजियो कमलेश जैनसँग फिल्डमा छलफल गरेपछि उनी ढाड समातेर मैदानबाट निस्किए। रोहितले शनिबार फ्लोरिडामा हुने चौथो टी–२० खेलका लागि आफू तयार हुने आशा व्यक्त गरेका छन्। पाँचौं तथा अन्तिम टी–२० खेल आइतबार सोही मैदानमा हुनेछ।
सिरिजमा २–१ को अग्रता लिएपछि रोहितले भने, 'अहिले राम्रो महसुस भइरहेको छ। यदि हामीसँग अर्को खेलअघि केही दिन छ भने, म सायद ठीक हुनेछु।'
कप्तान रोहितलाई वेस्ट इन्डिज भ्रमणमा रहेको एकदिवसीय सिरिजबाट विश्राम दिइएको थियो। यसअघि उनी कोरोना संक्रमणका कारण जुलाईमा एजब्यास्टनमा खेलिएको सिरिजको पाँचौं टेस्ट खेलबाट बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।