काठमाडौं– भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–२० वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्।
मंगललबार वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–२० मा ७६ रन बनाएपछि उनी उत्कृष्ट ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा उक्लिएका हुन्। उनी पहिलो स्थानमा रहेका पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमभन्दा मात्र दुई अंकले पछाडि छन्।
कप्तान रोहित शर्माको साथमा इनिङ्स ओपन गरेका सूर्यकुमारका लागि सिरिजका पहिलो दुई खेल त्यति राम्रो भएनन्। तर, तेस्रो खेलमा निर्णायक भूमिका खेल्दै उनले भारतलाई १६५ रनको कठिन लक्ष्यको निकै नजिक पुर्याए। यो इनिङ्सका कारण उनी चौथो नम्बरबाट दुई स्थान माथि उक्लिएका छन्।
यता, मोहम्मद रिजवान र एडन मार्कराम एक/एक स्थान तल झरेका छन्। भारतले वेस्ट इन्डिजसँगको यो सिरिजमा थप दुई खेल खेल्न बाँकी छ र सूर्यकुमारसँग बाबरलाई वरीयतामा पछि पार्ने राम्रो मौका छ।
गत वर्ष टी–२० आईमा डेब्यू गरेका सूर्यकुमारले अहिलेसम्म ३८.११ को औसत र १७५.६० को स्ट्राइक रेटमा ६४८ रन बनाएका छन्। उनले गत महिना ट्रेन्ट ब्रिजमा इङ्ग्ल्यान्डविरुद्ध ११७ रन बनाएपछि वरीयतामा ४४ स्थानको ठूलो फड्को मारेका थिए।
पाकिस्तानका कप्तान बाबर हाल तीनै अन्तर्राष्ट्रिय फर्म्याटको शीर्ष तीनमा रहेका एक मात्र ब्याट्सम्यान हुन्। एकदिवसीय र टी–२० आई वरीयतामा शीर्ष स्थानमा रहेका बाबर टेस्टमा तेस्रो स्थानमा छन्। पाकिस्तानको अर्को टी–२० आई खेल अगस्टको अन्त्यमा एसिया कपको समयमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।