काठमाडौं– बंगलादेशका नयाँ टी–२० कप्तान नुरुल हसनले जिम्बावे भ्रमणका बाँकी खेल गुमाउने भएका छन्। आइतबार हरारेमा भएको दोस्रो टी–२० खेलमा औंलामा चोट लागेपछि उनले बाँकी खेल गुमाउने भएका हुन्।
टिम फिजियो मुजद्दाद अल्फा सानीका अनुसार नुरुलको बायाँ हातको औंलामा बलले लाग्दा भाँचिएको थियो।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले तेस्रो टी–२० आईका लागि कप्तानको घोषणा नगरेपनि लिटन दासलाई कार्यवाहक कप्तान बनाउने सम्भावना छ। उनले गत वर्ष बंगलादेशको एक टी–२० खेलमा नेतृत्व गरेका थिए ।
‘हामीले एक्स–रे गर्यौं र औंलामा भाँचिएको पत्ता लाग्यो। यस्तो चोटबाट निको हुन करिब तीन हप्ता लाग्छ। त्यसैले उनी मंगलबारको अन्तिम टी–२० र आगामी एकदिवसीय सिरिजबाट बाहिर छन्,’ मुजद्दादले भने।
जिम्बाब्वेको इनिङ्सको अन्तिम ओभरमा नुरुल घाइते भएका थिए। त्यो बेला हसन महमूद बलिङ गरिरहेका थिए। त्यस क्रममा उनी पीडासँग लडिरहेका देखिन्थे।
पहिलो टी–२० मा १७ रनले पराजित भएपछि बंगलादेशले दोस्रो खेल जितेको हो। अहिले सिरिज १–१ को बराबरीमा छ।
बंगलादेशले मंगलबार तेस्रो तथा अन्तिम टी–२० खेल खेल्नेछ भने अगस्टमा हरारेमा तीन एकदिवसीय खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।