काठमाडौं– इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले दक्षिण अफ्रिकाविरुद्ध आक्रमक ब्याटिङ गरेका छन्। उनले १८ बलमा २ चौका र ६ छक्कासहित ५२ रनको इनिङ्स खेले।
यसक्रममा उनले १६ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए। योसँगै अली टी–२० क्रिकेटमा इङ्ग्ल्यान्डका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्।
यसअघि यो कीर्तिमान लियाम लिभिङस्टोनको नाममा थियो। उनले १७ बलमा अर्धशतक प्रहार गरेका थिए। दक्षिण अफ्रिकाविरुद्धको यो खेलमा इङ्ग्ल्यान्डको दुई विकेट चाँडै नै खसेको थियो।
इनिङ्सको सुरुआत गरेका जेसन रोय र जोस बटलर सानो स्कोरमा आउट भए। यसका बाबजुद पनि इङ्ग्ल्यान्डले आफ्नो ब्याटिङ शैली परिवर्तन गरेन। यस खेलमा इङ्ग्ल्यान्डले २० ओभरमा २३४ रन बनाएको थियो।
डेभिड मलानले २३ बलमा ४३ रन बनाए। जोनी बेयरस्टोले ५३ बलमा ९० र मोइन अलीले १८ बलमा ५२ रन बनाए । जवाफमा दक्षिण अफ्रिकाले पनि द्रुत गतिमा रन बनाएको थियो।
रिजा हेन्ड्रिक्सले ३३ बलमा ५७ रन बनाए। त्यस्तै, ट्रिस्टन स्टब्सले २८ बलमा ७२ रन बनाए । यसका बाबजुद दक्षिण अफ्रिकाले २० ओभरमा १९३ रन मात्रै बनाउन सकेन।
‘म्यान अफ द म्याच’ घोषित भएपछि अलीले भने,‘क्रिजमा आउनु राम्रो समय थियो। म बायाँ हाते ब्याट्सम्यानको रूपमा क्रिजमा आएको हुँ, किनभने बायाँ र दायाँ हाते ब्याट्सम्यानको जोडीलाई क्रिजमा राख्नुपर्ने थियो। यो पिचमा रन बनाउन गाह्रो थियो। जोनी एकदमै बलियो र सक्षम खेलाडी हुन्। टोलीको रूपमा हामीले राम्रो ब्याटिङ गर्यौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।