काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तलाबाजबाट 'द सिक्स्टी' क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले सन्दीपलाई टोलीमा राखेको बिहीबार जानकारी दिएको हो।
आयोजकका अनुसार यस प्रतियोगिता ६० बलको हुनेछ। ३० बलको एक इनिङ्स रहने यस प्रतियोगिता ६ विकेटको हुनेछ।
जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) लिगका लागि अनुबन्ध गरेको थियो। तर, सीपीएल आयोजना हुनुअघि आयोजना हुने द सिक्स्टीका लागि सन्दीपलाई जमैकाले टोलीमा राखेको हो।

जमैकाले सीपीएलका लागि अनुबन्ध गरेको सन्दीपसहित ५ विदेशी खेलाडीले द सिक्स्टी क्रिकेट प्रतियोगितामा खेलाउने छ।
जमैकामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर तथा इमाद वासिम, अष्ट्रेलियाका क्रिस ग्रीन र दक्षिण अफ्रिकाका मिगाली पिटोरियस रहेका छन्।
द सिक्स्टी प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ। दशौं संस्करणको सीपीएल अगस्ट ३० बाट सेप्टेम्बर ३० सम्म चल्नेछ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसमा सीपीएलका ६ टोली खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।