काठमाडौं– भारतकी पूर्व कप्तान मिताली राजले यही जुनमा क्रिकेटबाट सन्यास लिइसके पनि अर्को वर्ष हुने सम्भावित महिला इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्न चाहेको संकेत गरेकी छन्।
आईसीसीको हन्ड्रेड पर्सेन्ट क्रिकेट पोडकास्टमा इङ्ल्यान्डकी पूर्वबलर इशा गुहा र न्यूजिल्यान्डकी अलराउन्डर फ्रान्की म्याकेसँग कुरा गर्दै मितालीले भनिन्,‘मैले यो विकल्प आफैंका लागि खुला राखेको छु। आईपीएल आउन अझै केही महिना बाँकी छ। म महिला आईपीएलको पहिलो संस्करणको हिस्सा बन्न चाहन्छु।’
मितालीले सन् १९९९ देखि २०२२ सम्म अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएकी छन्। एकदिवसीय क्रिकेटमा उनको ७ हजार ८०५ रन कुनै पनि महिलाको कीर्तिमान हो।
तर, उनले २०१९ पछि भारतका लागि टी–२० अन्तर्राष्ट्रिय खेलमा भाग लिइनन्। यसबाहेक, उनले यो वर्ष पनि महिला टी–२० च्यालेन्ज प्रतियोगितामा खेलिनन्। उनले २०२० मा भेलोसिटी टोलीको कप्तानी गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।