काठमाडौं– श्रीलंकामा आयोजना हुने भनिएको एसिया कप संयुक्त अरब इमिरेट्स (युएई)मा हुने भएको छ।
एसिया क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष जय शाहले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा एसिया कप श्रीलंकामा आयोजना गर्न हरसम्भव प्रयास भए पनि आर्थिक संकटका कारण युएईमा सार्ने निर्णय भएको बताए।
यद्यपी, अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने यस प्रतियोगिताको आयोजक भने श्रीलंका नै हुनेछ। खाद्यान्न र इन्धन आपूर्तिको अभावका कारण श्रीलंका सबैभन्दा खराब संकटबाट गुज्रिरहेको छ। त्यसैले आर्थिक उथलपुथलका बीच एसिया कप आयोजना गर्न चुनौती रहेको शाहले बताए।
‘अष्ट्रेलिया र पाकिस्तानसँगको द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्न अझै पनि यो देश सक्षम छ। तर, एसिया कप बहुदलीय प्रतियोगिता भएकाले आर्थिक उथलपुथलका बीचमा आयोजना गर्न चुनौतीहरू ठूलै थिए,’ उनले भने,‘दुई टोलीको खेल आयोजना गर्नु भनेको दस टोलीको आयोजना गर्नु समान होइन।’
सन् २०१८ मा अन्तिमपटक आयोजना भएको एसिया कप यसपटक टी–२० ढाँचामा खेलाइने छ। यस प्रतियोगितालाई अक्टोबरमा हुने विश्वकपको तयारीका रुपमा लिइएको छ।
एसिया कपमा आयोजक युएईसँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।