काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आगामी सेप्टेम्बर–अक्टोबरमा भारतमा आयोजना हुने लेजेन्ड्स लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। लेन्जेन्ड्स लिग क्रिकेटले आइतबार पारसले प्रतियोगिता खेल्ने जानकारी दिएको हो।
लेजेन्ड्स क्रिकेट लिगमा विश्व क्रिकेटमा नाम चलेका पूर्वखेलाडीहरुले खेल्ने गर्छन्। गत जनवरीमा भएको प्रतियोगितामा वर्ल्ड जायन्ट्स, एसिया लायन्स र भारतको महाराजसहित तीन टोलीले प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगिताको उपाधि विश्व जायन्ट्सले जितेको थियो।
लेजेन्ड्स लिग क्रिकेट प्रतियोगिता यसअघि सन् २०२० र २१ मा रोड सेफ्टी विश्व सिरिजको नामबाट आयोजना भएको थियो। यस प्रतियोगिता भारत, वेस्ट इन्डिज, अस्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र इंग्ल्यान्डका लेजेन्ड्सले खेलेका थिए।

यसपटक पारससहित विश्वका ५० लेजेन्ड्सले खेल्ने पक्का भएको छ। यसपटक सौरभ गांगुली, हरभजन सिंह, ज्याक्स कालिस, इरफान पठान, इयन मोर्गन, चामिन्डा भास, डेल स्टेन, शेन वाट्सनलगायत विश्वभरका चर्चित खेलाडीले खेल्नेछन्।
पारसले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। पारसको कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो। नेपालका उनले लागि १० ओडीआई, ३३ टी–२० आई, दुई प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टी–२० खेलेका छन्। उनले ओडीआईमा एक शतकसहित ३१५ रन बनाएका छन्।
पारसले ३३ टी–२० आई खेलमा एक शतक र चार अर्धशतकसहित ७९९ रन बनाएका छन्। यस्तै, ८ विकेट लिएका छन्। लिष्ट ए मा तीन शतक र नाै अर्धशतकसहित १ हजार ४९७ रन बनाएका पारसले २६ विकेट लिएका छन्। पारसले टी–२० क्रिकेटमा भने १ हजार ३१७ रन जोडेका छन् भने कुल २८ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।