काठमाडौं- भारत र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसीय खेल आइतबार नेपाली समयअनुसार साँझ ७ : १५ बजेबाट सुरु हुँदैछ।
पहिलो खेलमा तीन रनले जित हात पार्दै भारतले सिरिजमा १–० को अग्रता लिएको छ। दोस्रो खेलमा भारत वेस्ट इन्डिजलाई हराएर सिरिज जित्न चाहन्छ। यदि भारतीय टोलीले यो खेल जित्यो भने यो वेस्ट इन्डिजविरुद्ध लगातार १२ एकदिवसीय सिरिज जित्ने टोली बन्नेछ र यो विश्व कीर्तिमान हुनेछ।
अहिलेसम्म कुनै पनि टोलीले एकदिवसीय क्रिकेटमा कुनै पनि टोलीविरुद्ध लगातार १२ सिरिज जित्न सकेको छैन। पछिल्लो पटक वेस्ट इन्डिजले सन् २००६ मा भारतलाई हराएको थियो।
दोस्रो खेल पनि क्विन्स पार्क ओभलमा हुनेछ। यहाँ अहिलेसम्म ७१ खेल खेलिएका छन्, जसमा पहिले ब्याटिङ गर्ने टोलीले ३१ मा जित हात पारेका छन्। दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले ३५ खेल जितेका छन्। यहाँ भारतको सर्वाधिक टिम स्कोरको कीर्तिमान छ। सन् २००७ को विश्वकपमा भारतले बर्मुडाविरुद्ध ४१३/७ रन बनाएको थियो।
क्वीन्स पार्क ओभलको पिचमा बल र ब्याटको टक्कर समान रूपमा देख्न सकिन्छ। पिचमा राम्रो बाउन्स छ र खेल अगाडि बढ्दै जाँदा स्पिन बलरहरूले पनि पिचबाट मद्दत लिन्छन्। यस मैदानमा औसत स्कोर लगभग २७०–२८० छ। दुवै टोलीसँग अनुभवी ब्याट्सम्यान छन्, त्यसैले स्कोर ३ सय नाघ्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।