काठमाडौं– केएल राहुललाई कोरोना संक्रमण भएको छ। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीले पनि मुम्बईमा भएको बोर्डको एपेक्स काउन्सिलको बैठकपछि यो खबरको पुष्टि गरेका छन्।
राहुल फिटनेस टेस्टको तयारीमा थिए। तर, यसैबीच वेस्ट इन्डिजमा हुने टी–२० सिरिजअघि उनलाई कोरोना संक्रमण भएको हो।
गत महिना जर्मनीमा हर्नियाको शल्यक्रिया गराएपछि राहुल बैंग्लोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा अभ्यास गरिरहेका थिए। उनले वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजमा समावेश हुनुअघि आफ्नो फिटनेस प्रमाणित गर्नुपर्ने थियो।
एनसीएमा राहुलले नियमित अभ्यास गर्दै आफ्नो फिटनेसमा कायम गरिरहेका थिए। अब राहुलले पहिला कोरोना नेगेटिभ हुनका लागि कुर्नु पर्नेछ। त्यसपछि उनले फिटनेस टेस्ट पास गर्नुपर्छ।
भारत र वेस्ट इन्डिजबीचको सिरिज जुलाई २९ बाट सुरु हुनेछ। यस्तो अवस्थामा राहुलसँग यी दुवै बाधा पार गर्न निकै कम समय बाँकी छ।
राहुल अगस्टमा जिम्बाब्वेविरुद्धको सिरिजमा मात्र फर्कन सक्षम हुनेछन्। भारतले अगस्ट १८, २० र २२ मा हरारेमा तीन ओडीआई खेल्ने तालिका छ र यो सिरिज सुपर लिगको हिस्सा हुनेछ।
यसैबीच, हातको चोटबाट निको भएका कुलदीप यादवलाई एनसीएबाट हरियो संकेत मिलेको छ। छनोट समितिले चाँडोभन्दा चाँडो उनको सहभागिताको बारेमा अन्तिम निर्णय लिन सक्छ।
कुलदीप आफ्नो दाहिने हातको नाडी भाँचिएको अवस्थामा उपचाररत थिए, जसका कारण उनी घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका थिए।
चोटले उनलाई आयरल्यान्ड र इङ्ल्यान्डमा भएको ओडीआई र टी–२० खेलबाट पनि बाहिर राखिएको थियो। कुलदीपले अन्तिमपटक इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलेका थिए। उनले १४ खेलमा २१ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।