काठमाडौं– इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा शानदार जित हासिल गरेको भारतीय टोली वेस्ट इन्डिजसँग एकदिवसीय सिरिज खेल्दै छ।
पहिलो खेल आज शुक्रबार पोर्ट अफ स्पेनको क्वीन्स पार्क ओभलमा हुनेछ। अर्कोतर्फ वेस्ट इन्डिजले हालै घरेलु मैदानमा बंगलादेशसँग हार बेहोरेको छ। यस्तो अवस्थामा भारतको युवा टोलीले वेस्ट इन्डिजमाथि बाजी मार्ने अनुमान गरिएको छ।
दुई टोलीबीच हालसम्म १३६ खेल भइसकेका छन्। भारतले ६७ खेल जितेको छ भने ६३ खेलमा हार बेहोरेको छ। योसँगै २ खेल बराबरी भएका छन्। ४ खेलमा नतिजा आएको छैन।
वेस्ट इन्डिजले पछिल्लो पटक सन् २००६ मा घरेलु मैदानमा भारतलाई एकदिवसीय सिरिजमा पराजित गरेको थियो। यसपछि भारतले ४ पटक वेस्ट इन्डिजको भ्रमण गरेको छ र प्रत्येक पटक जितेको छ। दुई टोलीबीच कुल ९ एकदिवसीय सिरिज खेलिएको छ। जसमध्ये ५ खेल भारतले जितेको छ।
वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्ड्या, ऋषभ पन्त र जसप्रित बुमराह सहभागी हुने छैनन्। भारतीय टोलीको नेतृत्व शिखर धवनले गर्नेछन्।
यो खेलमा धवन र शुभमन गिलले इनिङ्स ओपनिङ गर्न सक्छन्। योसँगै श्रेयस अय्यर तेस्रो नम्बरमा खेल्ने अपेक्षा गरिएको छ। यसपछि चौंथो नम्बरमा सूर्यकुमार यादव, पाँचौं नम्बरमा दीपक हुड्डा र छैठौंमा सञ्जु सैमसन खेल्न सक्नेछन्।
स्पिन विभाग रविन्द्र जडेजा र युजभेन्द्र चहलले सम्हाल्ने छन्। फास्ट बलिङको जिम्मेवारी मोहम्मद सिराज, शार्दुल ठाकुर र प्रशिद्धी कृष्णको काँधमा आउन सक्छ।
भारतको सम्भावित प्लेइङ ११:
शिखर धवन (कप्तान), शुभमन गिल, श्रेयस अय्यर, सूर्यकुमार यादव, सञ्जु सैमसन (विकेटकिपर), दीपक हुड्डा, रविन्द्र जडेजा, शार्दुल ठाकुर, युजवेन्द्र चहल, मोहम्मद सिराज र प्रशिद्धी कृष्ण।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।