काठमाडौं– पाकिस्तानका तीव्र गतिका बलर शाहीन अफ्रिदी घुँडाको चोटका कारण श्रीलंकाविरुद्धको दोस्रो टेस्टबाट बाहिरिएका छन्।
टोलीले बिहीबार सो जानकारी दिएको हो। बायाँ हाते तीव्र गतिका बलर शाहीनले पहिलो इनिङ्समा चार विकेट लिएपछि बुधबार गालेमा आगन्तुक टोलीले ओपनिङ जित हात पारेको थियो।
ओपनर अब्दुल्लाह शफिकको अविजित १६० रनको मद्दतले पाकिस्तानले गाले अन्तर्राष्ट्रिय स्टेडियममा कीर्तिमानी ३४२ रनको लक्ष्य पछ्याउँदै दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
‘पहिलो टेस्टको चौंथो दिन शाहीन अफ्रिदीको घुँडाको चोट लागेको छ। उनी जुलाई २४ देखि गालेमा हुने दोस्रो टेस्टबाट बाहिरिनेछन्। उनी श्रीलंकामा टेस्ट टोलीसँग हुनेछन्, जहाँ उनको प्रारम्भिक पुनर्स्थापना र व्यवस्थापन टोलीका मेडिकल स्टाफको निरीक्षणमा जारी रहनेछ,’ पाकिस्तान क्रिक्रेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
२२ वर्षीय शाहीनले २०१८ मा डेब्यू गरेदेखि २५ टेस्टमा ९९ विकेट लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।