काठमाडौं– खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणधीन फोहोरपानी प्रशोधन केन्द्रको मंगलबार निरीक्षण गरेका छन्।
उक्त निरीक्षणमा निर्माणधीन फोहोरपानी प्रशोधन केन्द्रको समस्या तत्काल सम्बोधन गर्न खानेपानी मन्त्रीको निर्देशन दिएका छन्।
मन्त्री चौधरीले फोहोरपानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपयायहरुका बारेमा सम्बन्धित पदाधिकारीहरुबाट जानकारी लिएका थिए।
धोविघाटमा रहेका दुईवटा निर्माणधीन फोहोरपानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको एउटा केन्द्रको निर्माण कार्य आगामी डिसेम्बरभित्र सम्पन्न हुने चरणमा रहेको छ भने प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताकै अर्को केन्द्रको निर्माणमा भने समस्या देखिएको छ।
मन्त्री चौधरीले निर्माण सम्पन्न हुने चरणमा रहेको फोहोरपानी प्रशोधन केन्द्र छिटोभन्दा छिटो सञ्चालन गर्नेगरी तयारी अगाडि बढाउन र निर्माणमा समस्या देखिएको केन्द्रको निर्माण कार्य के कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा निर्क्योल गरी कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिएका थिए।
‘कुनै पनि विकास आयोजना तथा कार्यक्रम तोकिएको समयभित्रै सम्पन्न हुनुपर्छ,’ मन्त्री चौधरीले भने ‘आयोजनाका अधुरा काम पूरा गर्नका लागि विकल्पसहितको कार्ययोजना बनाएर अघि बढ्न र स्थानीय बासिन्दासँग गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि कार्ययोजना बनाएर काम गर्नुस्।’
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले काठमाडौं उपत्यकाका नगरपालिकाहरुमा फोहोरपानी व्यवस्थापनको अवस्था, विद्यमान समस्या र समाधानका सम्भावित उपाय तथा पीडीएका आयोजना प्रवन्धक राजेश कुशवाह र दोस्वा इन्जिनीयरिङका कन्सल्ट्यान्ट राजनारायण गुप्ताले फोहोरपानी प्रशोधन केन्द्रहरुका बारेमा प्रस्तुति गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।