काठमाडौं– आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपाल त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग पराजित भएको छ।
स्कटल्याण्डको ताइतवड क्रिकेट मैदानमा गएराति सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
स्कटल्याण्डको जितमा कलुम म्याकलेओडले ६४ रनको अर्धशतकीय इनिङ खेले। केली कोएट्जरले अविजित ४४ रन, क्रिस्टोफरले १० र कप्तान रिची बेरिङटनले अविजित ४ रन जोडे।
नेपालका सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए। विनोद भण्डारीले १३, देव खनाल र रोहित पौडेलले समान १०/१० रन बनाए।
ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए । आरिफ शेख शून्य रनमा आउट भए । सन्दीप लामिछाने २२ रनमा आउट भए।
स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए। गाभिन मेनले २ विकेट लिए।
हारसँगै नेपालले सिरिजको ४ खेलमा मात्र एक खेलमा जित निकालेको छ। नेपालले यस अघिको भेटमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो। तर, नामिबियासँगका दुवै खेलमा पराजित भएको थियो।
नेपाल लिग टु को अंक तालिकाको छैटौं स्थानमा रहेको छ। नेपालले २० खेलमा १७ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।