काठमाडौं– विद्यालयस्तरीय अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सातौँ संस्करणको आयोजना धनगढीमा कार्तिक १३ गते हुने भएको छ। प्रतियोगिता कार्तिक २६ गतेसम्म हुनेछ।
विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।
लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन्। उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने भएको छ। सहभागी प्रत्येक टिमले ४ जना अन्डर-१९ राष्ट्रिय टिमका खेलाडीहरु समावेश गर्न पाउने प्रावधान छ।
लिगको गत संसकरणमा अन्डर-१९ राष्ट्रिय टिमका कप्तान तथा राष्ट्रिय क्रिकेटर देव खनालसहित आदील अन्सारी, बसिर एहमदसहित यु-१९ राष्ट्रिय क्रिकेटरहरु सन्तोष कार्की, अर्जुन साउद, शेर मल्ल, प्रकाश जैसी, बिपन रावल, विशाल बिक्रम केसी, सुवास ऐर, आकाश चन्द, गौतम केसी, खडक बोहरा विभिन्न टिमबाट सहभागी थिए।
२०७३ साल देखि प्रत्येक वर्ष प्रतियोगिता आयोजना हुँदै आएको छ। प्रतियोगितालाई नेपाल क्रिकेट संघले समेत मान्यता दिइसकेको छ।
प्रतियोगिताको गत संस्करणको उपाधि सन्तोष कार्की कप्तानीको सत्यवती एकेडेमीले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।