काठमाडौं– जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएका छन्।
आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्ड फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन्।
सेमिफाइनलमा नेदरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो। यस्तै, जिम्बाब्वेले पपुवा न्यूगिनीलाई २७ रनले हरायो।
पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको घरेलु टोली जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। जितका लागि २०० रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन मात्रै जोड्न सक्यो।
यस्तै, दोस्रो सेमिफाइनलमा १३९ रनको विजयी लक्ष्य पाएको नेदरल्यान्डले १९ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिका १९.४ ओभरमा १३८ रन बनाउँदा अलआउट भएको थियो।
नेदरल्यान्ड समूह ‘बी’ र जिम्बाब्वे ‘ए’ बाट अपराजित रहँदै फाइनसम्म पुगेका हुन्।
जिम्बाब्वे र नेदरल्यान्ड छनोट भएपछि अस्ट्रेलियामा हुने विश्व कप क्रिकेटका १६ टोलीको टुङ्गो लागेको छ। टी–२० विश्वकप आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।