काठमाडौं– विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा नेपालले स्कटल्यान्डमाथि ५ विकेटको सहज जित हात पारेको छ। स्कटल्यान्डमा भइरहेको नामिबियासमेत सम्मिलित त्रिकोणत्मक ओडीआई श्रृंखलामा नेपालले पहिलो जित हासिल गरेको हो।
नेपालले १४५ रनको सामान्य लक्ष्य २५.१ ओभरमा पूरा गरेको छ। नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ७१ रन बनाए। उनले ६२ बल खेल्दै १० चौका र एक छक्का प्रहार गरे।
कुशल भुर्तेल र आसिफले पहिलो विकेटका लागि ७.२ ओभरमा ४७ रनको साझेदारी गरेका थिए। कुशल २७ रन बनाएर पेभेलियन फर्किए।
त्यसैगरी रोहित पौडेलले नटआउट ३४ रन बनाए। देव खनाल ४, दीपेन्द्रसिंह ऐरी ३ र आरिफ सेख १ रनमा बाहिरिए।
स्कटल्यान्डका लागि गाभिन मेनले सर्वाधि ३ विकेट लिए। उनी ब्याटिङमा पनि चम्किएका थिए। स्कटल्यान्डका लागि नवौँ नम्बरमा आएर उनले सर्वाधिक ६४ रन बनाएका थिए।
टस हारेपछि ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड सुरुदेखि दबाबमा परेको थियो। खेलको दोस्रो ओभरको अन्तिम बलमा करण केसीले म्याथ्यु क्रसलाई २ रनमा आउट गरेर विकेटको सुरुवात गरेका थिए। त्यसपछि स्कटल्यान्डले लगातार विकेट गुमाउँदै गएको थियो।
९५ रनमा ९ विकेट गुमाएको स्कटल्यान्डले अन्तिम विकेटका लागि ४९ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामी र मोहम्मद आदिल आलमले ३–३ विकेट लिएका थिए। सन्दीप लामिछानेले २ र दीपेन्द्रसिंह ऐरी तथा करण केसीले १–१ विकेट लिए।
जितपछि नेपाल १८ खेलबाट १७ अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। यसअघि, सोमबारको खेलमा नेपाललाई पराजित गरेको नामिबिया पाँचौँ स्थानमा उक्लिएको थियो। नामिबियाको १६ खेलबाट १६ नै अंक छ।
स्कटल्यान्ड भने २२ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ। नेपालले अब अर्को खेल आगामी शनिबार नामिबियासँग र श्रृंखलाको अन्तिम खेल आइतबार स्कटल्यान्डसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।