काठमाडौं– आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ। स्कटल्याण्ड भ्रमणमा रहेको नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको हो।
स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १८० रन बनाउन सक्यो।
नेपालका लागि आसिफ शेखले अविजित ५० रनको अर्धशतकीय पारी खेले। ८४ बल खेलेका उनले ४ चौका प्रहार गरे।
त्यस्तै, देव खनालले ३४ रन बनाउँदा करण केसीले १९ तथा कुशल भुर्तेलले २७ रनको योगदान गरे। बलिङतर्फ नामिबियाका लागि बेर्नाड सोलेज्ड, डेभिड विस र जान फ्राइलिन्कले समान दुई–दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २२० रन बनाएको थियो ।
नामिबियाका लागि जान निकोल लोफ्टी स्टोनले ६० रनको अर्धशतकीय पारी खेले। डिभान ला कोकले ४१ रन बनाउँदा ग्ररार्ड इर्मुसले २२ रनको योगदान गरे। नामिबियाका कार्गी विलियम्सले २१ रन बनाउँदा डेभिड विस र लोहान्ड्रे लोरेन्सले १८–१८ रन बनाए।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए। सोमपाल कामीले दुई विकेट लिँदा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए।
हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ। नेपालले १७ खेलमा १५ अंक जोडेको छ। नामिबिया १६ खेलम १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध बुधबार खेल्नेछ।
नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।