काठमाडौं- ‘यो मेरो बाल्यकाल पुन: जिउनु जस्तै हो। मलाईं पहिलो पटक क्रिकेट खेलिरहको जस्तो लागिरहेको छ,’ भारतविरुद्ध ७ विकेटको ऐतिहासिक जितपछि जो रुटले भने।
माइक र क्यामेराको अगाडि उभिनुअघि उनले अविजित १४२ रन बनाए। रुटलाई जोनी बेयरस्टोले ११४ रन बनाएर साथ दिए।
यी दुई ब्याटरको उत्कृष्ट इनिङ्ससँगै इंग्ल्यान्डले ३ विकेट गुमाउँदै ३७८ रनको कीर्तिमानी लक्ष्य सजिलै पूरा गर्यो। यस क्रममा रुट र बेयरस्टोले यो वर्ष क्रमशः पाँचौं र छैटौं टेस्ट शतक पूरा गरेका छन्।
अन्तिम दिन १९.५ ओभरमा मात्रै ११९ रन बन्यो। सुरुदेखि नै इंग्ल्यान्डलाई कुनै खतरा या चिन्ता थिएन। इंग्ल्यान्डको ड्रेसिङ रुममा शान्ति थियो। तीन खेलमा २५० भन्दा बढीको स्कोर हासिल गरिसकेको थियो।
रुटले भने, ‘हामीले खेल्ने तरिकाबाट विश्वभरका टोलीहरू डराउँछन्। तपाईं अन्य टोलीहरूको मनोवृत्ति र खेलको शैलीमा धेरै सोच्न चाहनुहुन्न। यद्यपि, यो तपाईंमा निर्भर छ। यसले आत्मविश्वास बढाउँछ। र, अन्य टोलीहरू तपाईंबाट सावधान हुन थालेको महसुस गराउँछ।’
फरक यति थियो, लक्ष्य जतिसुकै ठूलो भए पनि इंग्ल्यान्डले मानसिक दबाब लिएन। ज्याक क्राउली र एलेक्स लीससँगै तीन ओभरमा तीन विकेट गुमाएपछि रुट र बेयरस्टोले इंग्ल्यान्डको इनिङ्स सम्हालेका थिए।
त्यसपछि कुनै जोखिम नलिइ उनीहरुले छिटो रन बनाए। जितको नजिक पुगेर शतक पूरा गरेपछि मात्र रुटले रचनात्मक सट खेलेका थिए। शार्दुल ठाकुरको बलमा एक स्टेप लिँदै उनले अगाडि चौका र त्यसपछि रिभर्स स्कूप गर्दै छक्का प्रहार गरे।
उनी त्यही रुट हुन्, जसलाई टी–२० र आक्रामक रुपमा ओडीआई खेल्ने टिमका लागि पनि ढिलो मानिन्थ्यो। उनी अहिले पनि दुई फरक विचारको बीचमा फसेको बताउँछन्।
रुटले हाँस्दै भने,‘मभित्रको योर्कशायरले मलाई क्रिजमा आउन र लाइन पार गरेर सिधा ब्याटले खेल्न भन्छ। कप्तानीले मलाईं रकस्टार जस्तै खेल्न भन्छ।’
रुटले खेलमा आनन्द उठाइरहेका छन्। उनलाई खराब फर्मको दबाब छैन। यता, बेयरस्टोको राम्रो फर्मको बावजुद, रुट आफ्नो कला पूर्ण उपयोग गरिरहेका छन्।
बाल्यकालदेखि नै रुटलाई इंग्ल्यान्ड क्रिकेटरको भविष्यको रूपमा हेरिएको थियो। साथै कप्तानको रुपमा। अहिले उनी त्यही आकांक्षाअनुसार खेलिरहेका छन्। उनी भन्छन्, ‘हामीले यसरी नै खेल्नुपर्छ र धेरै युवा खेलाडीहरूलाई प्रेरित गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।