काठमाडौं– पूर्वकप्तान जो रुट र जोनी बेयरस्टोको शतकीय इनिङ्समा इंग्ल्यान्डले पाँचौं टेस्ट खेलमा भारतमाथि ७ विकेटको जित हात पारेको छ।
आफ्नो टेस्ट इतिहास कै सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै पाँच खेलको सिरिज इंग्ल्यान्डले २–२ को बराबरीमा सक्याएको हो।
जितको लागि ३७८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले पाँचौं दिन पहिलो सेसनमा ७६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
यो इंग्ल्यान्डले टेस्ट क्रिकेटमा पूरा गरेको सर्वाधिक ठूलो योगफल हो। यसअघि इंग्ल्यान्डले २०१९ मा लिड्समा अस्ट्रेलियाविरुद्ध ३ सय ५९ रनको लक्ष्य पूरा गरेको थियो।
इंग्ल्यान्डका रुट १४२ रनमा अविजित रहे। उनले १७३ बलमा १९ चौका र १ छक्का प्रहार गरे। रुटको यो टेस्ट करिअरको २८औं शतक हो। जोनी बेयरस्टो १ सय ४५ बलमा १५ चौका र १ छक्कासहित १ सय १४ रनमा अविजित रहे। बेयरस्टोको यो टेस्ट करिअरको १२औं शतक हो।
बेयरस्टोले पहिलो इनिङ्समा १०६ रनको शतकीय इनिङ्स खेलेका थिए। चौथो विकेटका लागि रुट र बेयरस्टोले २६९ रनको अविजित साझेदारी गर्दै ऐतिहासिक जित पक्का गरे। इंग्ल्यान्डलाई ओपनर ज्याक क्रली र एलेक्स लिसले १०७ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाए।
युवा ब्याटर क्रलीले ७६ बलमा ७ चौका प्रहार गरे। लिस ६५ बलमा ८ चौकासहित ५६ रनमा रन आउट भएका थिए। दुई रन जोड्न तीन विकेट गुमाएपछि इंग्ल्यान्ड राम्रो सुरुवातका बाबजुद १०९–३ को अवस्थामा पुगेको थियो। तर, त्यसपछि भारतीय बलर रुट र बेयरस्टो सामू निरीह बने। भारतका जस्प्रित बुमराहले २ विकेट लिए।
यस सिरिज गतवर्ष सेप्टेम्बरमा कोरोना कारण स्थगित भएको थियो। पहिलो खेल बराबरी हुँदा दोस्रो खेल भारतले १५१ रनले जितेको थियो। तेस्रो खेलमा इंग्ल्यान्ड इनिङ्स अन्तरले ७६ रनले विजयी हुँदा चौथो खेलमा १५७ रनले पराजित भएको थियो।
भारत र इंग्ल्यान्डबीच अब तीन ओडीआई र तीन टी–२० आई खेलको सिरिज हुनेछ। पहिलो टी–२० आई खेल बिहीबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।