काठमाडौं- अस्ट्रेलियाविरुद्ध गालेमा हुने दोस्रो टेस्टका लागि श्रीलंकाले महेश थेक्साना, दुनिथ वेललेज र लक्षिता मानसिंघेलाई टोलीमा समावेश गरेको छ।
यी तीनमध्ये कम्तीमा एकले टेस्ट डेब्यू गर्न सक्छन्। लसिथ एम्बुल्डेनिया पहिलो टेस्टपछि टिमबाट बाहिरिएका छन् भने उनका साथी बायाँ हाते स्पिनर प्रविण जयविक्रम कोरोना संक्रमित भएका छन्।
अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा २२.३३ को औसतमा ९ विकेट लिने १९ वर्षीय बायाँ हाते स्पिनर वेललेजले ब्याटिङ गर्न सक्छन्। पहिलो टेस्टमा पनि रिजर्भ खेलाडीको रुपमा टिममा रहेका उनी अहिले मुख्य टोलीमा परेका छन्। उनले ११ प्रथम श्रेणी खेलमा ३०.७६ को औसतमा ३४ विकेट लिएका छन्।
एकदिवसीय सिरिजमा चार विकेट लिने अफ स्पिनर थेक्सानाले अहिलेसम्म तीनवटा मात्रै प्रथम श्रेणी खेल खेलेका छन्।
उनले अन्तिम पटक २०१८ मा खेलेका थिए। उनलाई सीमित ओभरको क्रिकेटमा भविष्यका रुपमा हेरिन्छ। अफ स्पिनर मानसिंघेले अस्ट्रेलिय एविरुद्ध रातो बलको सिरिज खेल्दै दुई खेलमा १३ विकेट लिएका थिए।
हालैका वर्षहरूमा रातो बल क्रिकेटमा श्रीलंकाका प्रमुख स्पिनर एम्बुल्डेनियाले पहिलो टेस्टमा १५ ओभरमा ७३ रन दिएका थिए। तर, उनले कुनै विकेट लिएनन्। यसअघि बंगलादेशविरुद्धको पहिलो टेस्टमा खराब प्रदर्शन गरेपछि उनी सिरिजबाट बाहिरिएका थिए।
श्रीलंकाका मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले भने,‘उनी अहिले केही समस्यामा छन्। यद्यपि, श्रीलंकाको ड्रेसिङ रुमबाट उनलाई पर्याप्त समर्थन मिलेको छ। हामीले उनलाई निश्चित लेन्थमा लगातार बलिङ गर्न भनेका छौं। तर, उनी मात्र होइन, हाम्रो पूरै बलिङ बिग्रिएको छ। हाम्रो बलरले आफ्नो लेन्थमा सुधार गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।