काठमाडौं– वेस्ट इन्डिजका पूर्वब्याट्सम्यान शिवनारायण चन्द्रपल अमेरिकाको सिनियर र यू–१९ महिला टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।
उनले यसै सातादेखि जिम्मेवारी सम्हाल्नेछन्। अमेरिकाले यस वर्षको टी–२० विश्वकप छनोट र जनवरीमा हुने यू–१९ विश्वकपमा सहभागिता जनाउने छ।
चन्द्रपलले भने, ‘यो भूमिकालाई लिएर धेरै उत्साहित छु। मैले वर्षौंदेखि अमेरिकी महिला टोलीको प्रगति हेरिरहेको छु। यो मेरो लागि ठूलो अवसर हो। म मेरो २० वर्षभन्दा बढीको अन्तर्राष्ट्रिय क्रिकेट र कोचिङको अनुभव यहाँ प्रयोग गर्नेछु।’
उनले जनवरीमा हुने यू–१९ विश्वकपमा आफ्नो पहिलो प्रथमिकता रहेको बताए। चन्द्रपलले सिनियर महिला टोलीमा अस्ट्रेलियाकी जुलिया प्राइसको स्थान लिनेछन्। प्राइसले तीन वर्ष अमेरिकी महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेकी थिइन्।
त्यसपछि अमेरिकी क्रिकेट बोर्डले एक वर्ष अमेरिकामा बस्ने व्यक्तिको खोजी गरिरहेको थियो। चन्द्रपल २००५ देखि फ्लोरिडाको ओर्लान्डो सहरमा बस्दै आएका छन्। उनी सारासोटा क्रिकेट क्लबसँग सम्बद्ध छन्, जहाँ उनले पहिले खेलाडी र अहिले प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन्।
चन्द्रपल यस वर्ष अगस्ट ३० देखि सेप्टेम्बर ३० सम्म चल्ने क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा जमैका तालावाह टोलीका मुख्य प्रशिक्षक पनि हुन्। यसअघि उनले वेस्ट इन्डिज यू–१९ पुरुष टोलीको प्रशिक्षक पनि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।