काठमाडाैं-रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले टी२० अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई पराजित गरेको छ।
आइतबार राति सम्पन्न खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले पराजित गरेको हो। २१० रनको लक्ष्य पच्छ्याएकाे ओन्टारियो १९.३ ओभरमा अलआउट हुँदै १५४ रनमा समेटियो।
ओन्टारियोका लागि वरूण सहदेवले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यता, कप्तान नरेश बुढाऐरले ३३ बलमा २ चौका र २ छक्कासहित ४१ रन जोडे।
जेड प्याडमोरले २५ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए। नेपालका लागि सोमपाल कामीले २ विकेट लिए। करण केसी, किशोर महतो र आदिल अन्सारीले १/१ विकेट लिए।
त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रन बनायो। नेपालका लागि रोहित पौडेल सर्वाधिक ७१ रनमा अविजित रहे। उनले ३१ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
यता, दीपेन्द्रसिंह ऐरी २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनमा आउट भए। चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ५४ रनको साझेदारी गरेका थिए।
ओपनर पवन सर्राफ ३४ बलमा ५ चौकासहित ३७ रनमा क्याच आउट भए। देव खनाल १३ बलमा २ चौका र १ छक्कासहित २० रनमा बोल्ड आउट भए। आदिल अन्सारी १० बलमा १० रनमा अविजित रहे।
ओन्टारियोका रेमान्ड बाइन, वरुण सहदेव, किनान टिन्टो र हसन मिराजले १-१ विकेट लिए।
एकदिवसीय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।