काठमाडौं– बर्मिङ्घममा इंग्ल्यान्डविरुद्ध जारी टेस्ट सिरिजमा भारतका पूर्वकप्तान विराट कोहली १९ बलमा ११ रन बनाएर आउट भए। उनलाई म्याथ्यु पोट्सले बोल्ड गरेका थिए। पोट्सले आफ्नो करिअरको दोस्रो सिरिज मात्र खेलिरहेका छन्।
योसँगै कोहलीको करिब तीन वर्षदेखि लगातारको असफलताले निरन्तरता पाएको छ। उनले २३ नोभेम्बर २०१९ मा बंगलादेशविरुद्धको टेस्टमा शतक बनाएका थिए। त्यसयता उनले क्रिकेटको कुनै पनि फर्म्याटमा शतक बनाउन सकेका छैनन्। अर्थात् ९५३ दिन उनी शतकविहीन छन्।
१८ टेस्टमा ८५२ रन मात्रै
कोहलीले आफ्नो पछिल्लो शतकयता १८ टेस्ट खेलेका छन्। उनले ३१ पटक ब्याटिङ गर्दा ६ पटक मात्रै ५० अंक पार गर्न सकेका छन्। यस अवधिमा उनको औसत २७.४८ मात्र थियो। सिनियर ब्याट्सम्यानमा उनीभन्दा अजिंक्य रहाणे (२४.०८)) र चेतेश्वर पुजारा (२५.९४)को औसत मात्र खराब छ।
जसका कारण पुजारा र रहाणे दुवै टिमबाट बाहिरिएका छन्। पुजारा पछिल्लो समय लयमा देखिएका छन् भने रहाणे अझै आफूलाई सुधार गर्दैछन्।
अर्कोतर्फ, यो अवधिमा कोहलीभन्दा राम्रो खेल देखाउने धेरै खेलाडी छन्। ऋषभ पन्तको टोलीमा स्थानलाई लिएर प्रायः प्रश्न उठ्ने गर्छ। तर, कोहलीको पछिल्लो शतकदेखि पन्त भारतका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सबैभन्दा अगाडि छन्।
उनले यस अवधिमा २० टेस्टमा ४२.३२ को औसतमा १ हजार ३१२ रन बनाएका छन्। जसमा ३ शतक र ७ अर्धशतक समावेश छ। रोहित शर्मा, केएल राहुल र शुभमन गिलको औसत कोहलीको भन्दा राम्रो छ।
भारतीय टोलीमा स्थान बनाउन देशभरका ब्याट्सम्यानबीच प्रतिस्पर्धा छ। यस्तो अवस्थामा कोहलीले आफ्नो ठाउँ कहिलेसम्म बचाउन सक्छन्? त्यो भने हेर्न बाँकी छ।
ओडीआईमा औसत ४० भन्दा कम
२३ नोभेम्बर २०१९ देखि कोहलीले ओडीआई क्रिकेटमा पनि राम्रो ब्याटिङ गर्न सकेका छैनन्। यस अवधिमा उनले २१ ओडीआई खेलेका छन्। उनले ३७.६६ को औसतमा ७९१ रन मात्र बनाउन सकेका छन्। यसमा १० अर्धशतक अवश्य छ, तर एक पनि शतक छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।