काठमाडौं– विकेटकिपर ब्याट्सम्यान जोस बट्लर इंग्ल्यान्डको पुरुष टोलीको एकदिवसीय र टी–२० को कप्तान नियुक्त भएका छन्।
इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले बिहीबार बट्लरलाई कप्तान नियुक्त गरेको हो।
बुधबार विश्वकप विजेता कप्तान ओएन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएसँगै बोर्डले बट्लरलाई कप्तानीको जिम्मेवारी सुम्पिएको हो।
लामो समयदेखि खराब फर्म र चोटसँग लडिरहेका कारण मोर्गनले दुवै ढाँचामा इंग्ल्यान्डका लागि सर्वाधिक रन बनाउने र सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको रूपमा आफ्नो करिअरको अन्त्य गरेका थिए। उनी इंग्ल्यान्डका लागि एकदिवसीय विश्वकप जित्ने पहिलो खेलाडी पनि हुन्।
सन् २०१५ मा एलिस्टर कुकको उत्तराधिकारी नियुक्त भएदेखि मोर्गनले १२६ एकदिवसीय र ७२ टी–२० अन्तर्राष्ट्रिय खेलमा इंग्ल्यान्डको नेतृत्व गरेका थिए।
यस अवधिमा उनको कप्तानीमा इंग्ल्यान्डल २०१६ मा टी–२० विश्वको उपविजेता बनेको थियो। र, पछि टोलीले २०१९ मा एकदिवसीय विश्वकप जित्यो। ३१ वर्षीय बट्लर यसअघि उपकप्तान रहेका थिए।
बट्लरको कप्तानीमा इंग्ल्यान्डले जुलाईमा भारतविरुद्ध एकदिवसीय र टी–२० सिरिज खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।