काठमाडौं– ३६ वर्षपछि भारतीय क्रिकेट टिमको कप्तानी तीव्र गतिका बलरले गर्ने भएका छन्।
नियमित कप्तान रोहित शर्मालाई कोरोना संक्रमण भएपछि इङ्ल्यान्डविरूद्ध शुक्रबारदेखि सुरु हुने विश्व टेस्ट च्याम्पियनसिपमा जसप्रित बुमराहले टोलीको कप्तानी गर्न लागेका हुन्।
बर्मिङ्घम टेस्टका लागि बुमराहलाई कप्तानी सुम्पिएको भारतीय क्रिकेट बोर्डले जनाएको छ। बुमराह कपिल देवपछि भारतीय टेस्ट टोलीको कप्तानी गर्ने पहिलो तीव्र बलर हुन्।
कपिलले सन् १९८६ को सेप्टेम्बरमा अन्तिम पल्ट टेस्ट टोलीको कप्तानी गरेका थिए।
बर्मिङ्घममा हुन लागेको टेस्ट गत वर्षको निरन्तरता हो। गत वर्ष ५ टेस्टको सिरिजमध्ये ४ पूरा भइसकेको अवस्थामा कोरोनाको महामारी बढेपछि स्थगित गरिएको थियो। त्यही स्थगित अन्तिम टेस्ट शुक्रबारदेखि सुरु हुन लागेको हो।
कपिलको कप्तानीमा भारतले ३४ टेस्ट खेलेको थियो। जसमा ४ मा जित, ७ हार, १ टाई र २२ ड्र भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।