काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का कार्याबहाक सचिव प्रशान्तविक्रम मल्लले आगामी सेप्टेम्बरमा नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्ने जानकारी दिएका हुन्।
‘अस्ट्रेलियामा एउटा रोयल हेरिटेज भन्ने नेपाली सोसाइटी छ। त्यही सोसाइटीले एउटा एग्रिमेन्ट ल्याएका हुन्। त्यही अनुसार नेपाली टोलीले सेप्टेम्बरतिर अस्ट्रेलिया भ्रमण गर्न लागेको हो,’ उनले नेपाल लाइभसँग भने।
यद्यपि, नेपाली टोलीले कुन टिमसँग कहिले खेल्ने हो त्यसबारे अहिल्यै नै टुङ्गो नलागिसकेको उनले बताए। ‘त्यहाँ नेपाली र स्थानीय टिमहरुसँग नेपाली टोलीले अभ्यास खेल्न खेल्ने छ। हामीले भ्रमणको अन्तिम तयारी गरि गरिरहेका छौं। तर, अहिले नै नेपालले कुन–कुन टोलीसँग खेल्छ भनेर टुङ्गो लागिसकेको छैन,’ उनले भने।
नेपाली टोली हाल क्यानडा पुगेको छ। लिग–२ खेल्नका लागि स्कटल्यान्ड जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा पुगेको हो। क्यानडामा नेपालले त्यहाँको राष्ट्रिय टोलीसँग दुई वटा एकदिवसीय खेल खेल्नेछ।
त्यहाँबाट क्रिकेट टोली स्कटल्यान्ड जानेछ। स्कटल्यान्डमा घरेलु टोलीसहित नेपाल र नामिबियाबीच लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज हुनेछ। नेपालले दुवै देशसँग २–२ वटा खेल खेल्नेछ।
नेपालले पहिलो खेल असार २७ गते नामिबियाविरुद्ध खेल्नेछ। लिग–२ को अंक तालिकामा २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ। १६ खेलबाट १५ अंक पाएको नेपाल पाँचौँ र १४ खेलबाट १४ नै अंक बटुलेको नामिबिया छैटौँ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।