काठमाडौं– अपन राधेमाई युथ क्लब यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा आइतबार फाइनलमा प्रवेश गरेको छ। मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्यो।
सुरुमा ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १२९ रन खडा गर्यो। राधेमाईका सागिर मियाले ३०, सजित अख्तर हवारीले २८ र सफ्वान अलीले १९ रन बनाए।
जवाफमा घोडाघोडी १२.४ ओभरमा पूरै विकेट गुमाउदै मात्र ३९ रनमा खुम्चियो। बलिङतर्फ राधेमाईका ‘म्यान अफ द म्याच’ अनिश साह कानुले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए। राधेमाईकै वसिम अली मन्सुरी र रोहन यादवले २–२ ब्याट्सम्यानलाई पभेलियन फर्काए।
उपाधिका लागि राधेमाईले ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर र आयोजक नेक्सस क्रिकेट एकेडेमीबीचको विजेतासँग खेल्ने छ। जिएचसीए र नेक्ससबीचको सेमिफाइनल आइतबारै हुनु पर्नेमा वर्षाका कारण मैदान भिजेपछि सम्भव भएन।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रतियोगिताको अर्को सेमिफाइनल सोमबार हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।