काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज र क्यानडामा दुई एकदिवसीय अभ्यास सिरिजका लागि नेपाल टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले निर्वतमान कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र सुनिल धमलालाई बाहिर राख्दै आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
मल्ल, भेषावकर र धमला बाहिर रहँदा राष्ट्रिय टोलीमा देव खनाल, अदिल अन्सारी, किशोर महतोलाई निरन्तरता दिइएको छ। यता, पवन सराफ पनि राष्ट्रिय टोलीमा फर्किएका छन्।
ओमानमा गत फागुनमा सम्पन्न चारदेसीय टी-२० आई सिरिज र त्यसपछि आयोजित आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको ग्लोबल छनोटमा मल्लले सन्दीप लामिछानेको कप्तानीमा खेलेका थिए। त्यसयता उनी टोलीमा अटाउन सकेका छैनन्।
यता, आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्नुअघि भेषावकरको घुँडामा चोट लागेको थियो। क्यानले भेषावकरको स्थानमा युवा ब्याट्सम्यान कुशल मल्ललाई त्यसबेला टोलीमा समावेश गरेको थियो। त्यसयता भेषावकर पनि टोलीमा पर्न संघर्षरत छन्।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिजअघि क्यानडामा दुई एकदिवसीय अभ्यास खेल खेल्ने छ। दुई टी–२० आई र दुई एकदिवसीय अभ्यास खेलका लागि नेपालले क्यानडा भ्रमण गर्ने क्यानले जनाएको थियो।
तर, भिसा आउन निकै समय लागेपछि टी–२० आई तोकिएको समयमा नहुने निश्चित भएसँगै एकदिवसीय सिरिज मात्रै गर्न लागिएको क्यानको भनाइ छ। कार्यतालिका अनुसार नेपाल शनिबार क्यानाडा भ्रमणमा निस्कने कार्यक्रम थियो। तर, अहिले नेपाली टोली भिसा प्रक्रिया पूरा गरेर मंगलबार बिहान क्यानडा उड्ने कार्यतालिका रहेको क्यानले जनाएको छ।
क्यानका अनुसार नेपाली टोलीले जुलाई ४ मा क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्ने छ। यस्तै, त्यसको भोलिपल्ट दोस्रो एकदिवसीय खेल्ने छ।
त्यसअघि जुलाई १ मा स्थानीय क्लब अन्टारियोसँग वामअर्प खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ। क्यानले यसअघि शनिबारको लागि टिकट बुक गरे पनि समयमा भिसा पक्का नहुँदा त्यो रद्द भएको थियो।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड, नेपाल र नामिबिया हुनेछ। नेपाल १६ खेलमा ७ जित र ८ हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ।
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका :
असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल
असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।