काठमाडौं– नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिजअघि क्यानडामा दुई एकदिवसीय अभ्यास खेल मात्रै खेल्ने भएको छ।
दुई टी–२० आई र दुई एकदिवसीय अभ्यास खेलका लागि नेपालले क्यानडा भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको थियो।
तर, भिसा आउन निकै समय लागेपछि टी–२० आई तोकिएको समयमा नहुने निश्चित भएसँगै एकदिवसीय सिरिज मात्रै गर्न लागिएको क्यानले जनाएको छ।
कार्यतालिका अनुसार नेपाल शनिबार क्यानाडा भ्रमणमा निस्कने कार्यक्रम थियो। तर, अहिले नेपाली टोली भिसा प्रक्रिया पूरा गरेर मंगलबार बिहान क्यानडा उड्ने कार्यतालिका रहेको क्यानले जनाएको छ।
क्यानका अनुसार नेपाली टोलीले जुलाई ४ मा क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्ने छ। यस्तै, त्यसको भोलिपल्ट नेपाली टोलीले क्यानडासँग दोस्रो एकदिवसीय खेल खेल्ने छ।
त्यसअघि जुलाई १ मा स्थानीय क्लब अन्टारियोसँग वामअर्प खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ। क्यानले यसअघि शनिबारको लागि टिकट बुक गरेपनि समयमा भिसा पक्का नहुँदा त्यो रद्ध भएको थियो।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड, नेपाल र नामिबिया हुनेछ। नेपाल १६ खेलमा ७ जित र ८ हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ।
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल
असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।